५ बैशाख २०८२, शुक्रबार

पाणिनी सम्मेलन : प्राचीन तपोभूमिबाट समृद्धि र संस्कृतिको नयाँ यात्रा

प्रकाशित मिति :  9 April, 2025 5:31 pm


टीकाबहादुर बस्नेत
दाङ ।
संस्कृत व्याकरणका जन्मदाता पाणिनिको नाममा आयोजित ऐतिहासिक पाणिनि सम्मेलन बुधबारदेखि अर्घाखाँचीको पाणिनि गाउँपालिकामा सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको सम्मेलनले पाणिनिको स्मृतिलाई उजागर मात्र नगरी संस्कृत भाषा, प्राचीन ज्ञान र पर्यटनको भविष्य निर्माणतर्फ ठोस संकेत गरेको छ ।

लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् र पाणिनि गाउँपालिकाको संयुक्त आयोजना गरिएको दुईदिने सम्मेलनमा संस्कृतका विद्वान्, धर्मगुरु, अनुसन्धानकर्ता र नीतिनिर्माताहरूको सहभागिता छ ।

पाणिनिको कृतिमाथि गहिरो विमर्श, पुनर्जागरणको बहस
व्याकरणका पिता पाणिनिको भूमिमा अहिले संस्कृत पुनर्जागरणको बहस चलिरहेको छ । सम्मेलनको प्रारम्भिक शत्रमा विद्वान्हरूले पाणिनिको अद्वितीय कृति ‘अष्टाध्यायी’ को संरचना, त्यसको दार्शनिक पृष्ठभूमि, भाषिक वैज्ञानिकता र समकालीन भाषाशास्त्रमा यसको प्रभावबारे गहिरो विमर्श गर्दै छन् ।

अष्टाध्यायीलाई ‘मानव इतिहासको पहिलो भाषिक कम्प्युटर’ का रुपमा लिँदै पाणिनिको कार्यलाई केवल वैदिक संस्कृतमा सीमित नराखी, आधुनिक भाषिक संरचनाको आधारका रूपमा समेत प्रयोग गर्न सकिने नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक राजेश घिमिरेले बताए ।

“पाणिनि र उनका कृतिहरुलाई वैदिक साहित्यमा मात्र सीमित राख्ने प्रयत्न गरियो, यसो गर्नु हुँदैन । पाणिनिको अष्टाध्यायी आधुनिक विज्ञानका लागि उपयोगी कृति हो”, घिमिरेले भने, “पाणिनि सम्मेलनले सिंगो विश्वभर पाणिनि र उनका कृतिहरुलाई फैलाउन मदत गर्नुपर्दछ । सिंगो विश्वको प्राज्ञिक क्षेत्रलाई सन्देश प्रवाह गर्न सम्मेलन सहयोगी बन्नेमा विश्वस्त छौं ।”

संस्कृत भाषा र पर्यटनको पुनर्जागरणको सङ्केत
पाणिनी सम्मेलन केवल शास्त्रीय बहसको थलो मात्र होइन, पर्यटन र संस्कृत शिक्षाको पूनर्जागरणतर्फको कदम पनि बनेको छ । सम्मेलनका वक्ताहरूले पाणिनिको जन्मस्थललाई अन्तर्राष्ट्रिय संस्कृत अध्ययन केन्द्रको रूपमा विकास गर्न सकिने सम्भावनाबारे धारणा राखेका छन् ।

पाणिनी गाउँपालिकामा ‘संस्कृत ग्राम’, पाणिनिको डिजिटल संग्रहालय र शोध संस्थान स्थापनाको प्रस्तावहरू अघि सारिँदै छन् । यो सम्मेलनले संस्कृत भाषा र संस्कृति क्षेत्रको नयाँ युग सुरु गर्ने सम्भावना बोकेको छ ।

पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले सम्मेलनलाई अवसरका रुपमा लिने बताए । उनले प्राचिण ज्ञानभूमिबाट शिक्षाको पूनर्जागरण गर्ने बताए । “हाम्रो उद्देश्य पाणिनिको भूमिलाई ज्ञान र पर्यटनको संगमस्थल बनाउने हो । संस्कृत अध्ययनको केन्द्र बनाउने हो”, अध्यक्ष न्यौपानेले भने, “सम्मेलनलाई हामीले अवसरका रुपमा लिएका छौं । पाणिनितर्फ विश्वको ध्यान खिच्न सम्मेलन सफल हुनेमा विश्वस्त छौं ।”

प्राचीन ज्ञान र पर्यटन विकासमा जोड
संस्कृत व्याकरणका जन्मदाता पाणिनिको स्मृतिमा आयोजित पाणिनि तपोभूमि सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राचीन ज्ञान, संस्कृति र सम्भावनाको संगम पाणिनिलाई पुनर्जीवित गर्ने उद्घोष गरेका छन् ।

प्रधानमन्त्री ओलीले अर्घाखाँचीलाई ‘ध्यान, ज्ञान र देवभूमि’ को रूपमा परिभाषित गर्दै यस भूमिलाई विश्वव्यापी ज्ञानको सुरुवात भएको पावनस्थल को रूपमा घोषणा गर्नुपर्ने धारणा राखे ।

“यो भूमि पावन छ, पुण्य छ, देवभूमि हो”, प्रधानमन्त्री ओलीले भने, “विश्वका व्याकरणका पिता पाणिनि यही भूमिमा जन्मनु भएको हो । अरू सबै व्याकरणहरूले पाणिनिको सूत्रलाई आधार मानेका छन् ।”

पाणिनिले तयार पारेको ३,९५९ सूत्र ‘अष्टाध्यायी’ मा समेटिएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “यी सूत्रहरू आजको कृत्रिम बौद्धिकता (एआई) मा समेत प्रयोग भइरहेका छन् । पाणिनिको योगदान भाषिक विज्ञान मात्र होइन, समग्र मानव सभ्यताको प्रगतिका लागि असाधारण छ ।”

उनले पाणिनिसँगै पतञ्जलि, शिव, सिङ्ग ऋषिजस्ता महर्षिहरूको तपोभूमिका रूपमा अर्घाखाँचीको महत्व उल्लेख गर्दै यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनमा समग्र योजनासहित सरकार अघि बढेको जानकारी दिए ।
मुख्यमन्त्री चेतनारायण आचार्यले सम्मेलन केवल औपचारिक सभा मात्र नभई प्राचीन ज्ञान, संस्कृति र इतिहासलाई नयाँ पुस्तासँग जोड्ने अवसरभएको बताए ।

“पाणिनिको तपोभूमिलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न उत्खनन्, संरक्षण र अन्तर्राष्ट्रिय प्रचारमा प्रदेश सरकारले विशेष जोड दिएको छ”, मुख्यमन्त्री आचार्यले भने, “यी प्रयासहरूले रोजगारी सिर्जना, आर्थिक समृद्धि र सांस्कृतिक जागरणको आधार तयार गर्नेछन् ।”

उनले पाणिनी सर्किट विकासमार्फत् प्राज्ञिक र सांस्कृतिक पर्यटनमा नयाँ आयाम थपिने उल्लेख गरे । “केन्द्र सरकारको नीतिगत तथा बजेटीय सहयोग, साथै अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रचारमार्फत लुम्बिनी प्रदेशलाई विश्वको प्राज्ञिक, आध्यात्मिक र पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्न सकिन्छ”, उनले जोड दिए ।

लुम्बिनी प्रदेशको समृद्ध पर्यटनको सम्भावना
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशलाई प्राचीन सभ्यता, संस्कृति र ज्ञानको संगमस्थलका रूपमा चित्रण गरे । बुद्ध जन्मस्थल लुम्बिनी, तिलौराकोट, देवदह, कुदान, रामग्राम, साथै स्वर्गद्वारी, रेसुंगा, रानीमहल, ढोरपाटन लगायत स्थललाई समेट्दै पर्यटनमार्फत समृद्धि हासिल गर्ने रणनीति प्रदेश सरकारले तय गरिसकेको जानकारी उनले दिए ।

सम्मेलनले केवल अतीतको पुन: स्मरण नभई, नयाँ पुस्तालाई आफ्नो संस्कृतिमाथि गर्व गर्ने अवसर समेत दिएको छ । प्रधानमन्त्री र मुख्यमन्त्री दुवैले सम्मेलनलाई ‘सांस्कृतिक पुनर्जागरण’ को ऐतिहासिक कदम बताउँदै सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे । भोलिसम्म चल्ने सम्मेलनमा विभिन्न कार्यपत्र प्रस्तुत हुनेछन् ।



प्रतिक्रिया दिनुहोस !