पत्रकार सुरेश रजकको श्रद्धाञ्जली कार्यक्रम : पत्रकारको पेशागत र भौतिक सुरक्षा हुनुपर्छ-प्रियासन

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले पत्रकारहरूको पेशागत र भौतिक सुरक्षाका लागि राज्य तथा सरोकारवाला पक्षहरूले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
पत्रकार महासंघको केन्द्रीय कार्यक्रमअनुसार दाङ शाखाले घोराहीमा आयोजना गरेको पत्रकार सुरेश रजकको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै प्रियासनले विभिन्न खाले आन्दोलनका नाममा पत्रकारहरुमाथि गरिने ज्याजति सह्य नहुने बताए ।
उनले मिडियामाथि हुने आक्रमणलाई निस्तेज पार्नुपर्ने आवश्यकता औल्याए । प्रियासनले लोकतन्त्रमा मात्र पत्रकारहरूको सुरक्षा हुने उल्लेख गर्दै प्रतिगमनका पक्षमा केही तत्वहरूले गरिरहेको आन्दोलन असान्दर्भिक भएको स्पष्ट पारे ।
महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल, लुम्बिनी प्रदेश महासचिव पाण्डव शर्मा, महासंघ दाङका पूर्व अध्यक्ष केबी मसाल, प्रेस काउन्सिल नेपालका पूर्व सदस्य शरद अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण शाखा सचिव जेएन सागरले गरेका थिए ।