२२ बैशाख २०८२, सोमबार

लुम्बिनी कप महिला फुटबल प्रतियोगिता वैशाख ५ देखि सुरु हुने : आठ टोलीको सहभागिता

प्रकाशित मिति :  10 April, 2025 7:57 am


बाँके । आगामी वैशाख ५ गतेदेखि बाँकेको नेपालगञ्ज रंगशालामा सुरु हुने लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा आठ समूहको सहभागिता रहने भएको छ ।

आयोजक संस्था अन्तराल का प्रमुख कार्यकारी जयनारायण शाहका अनुसार प्रतियोगितामा नेपालका तीन विभागीय टोलीसहित भारतको सिलगुडी फुटबल क्लब र अन्य स्थानीय टिमहरूले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, भारतको सिलगुडी फुटबल क्लब र रौतहट जिल्ला फुटबल सङ्घ समूहले सहभागिता जनाउने पुष्टि भएको छ ।

बाँके जिल्ला फुटबल सङ्घको सहकार्यमा आयोजना हुने यस प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

विजेता टिमले नगद पाँच लाख पाँच हजार ५५५ रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले दुई लाख ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ ।

यस्तै, प्रत्येक खेलमा उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ भने प्रतियोगिताभर विधागततर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत सम्मान गरिने जानकारी कार्यकारी निर्देशक शाहले दिए ।

प्रतियोगिता अवलोकनका लागि दर्शकलाई ‘सिजनल फुल प्याकेज’ टिकटको व्यवस्था गरिएको छ । सो प्याकेजको मूल्य १,५०० रुपैयाँ तोकिएको छ भने विद्यार्थीका लागि सहुलियत दरमा टिकट उपलब्ध गराइनेछ । खेल मैदानको प्यारापिटअनुसार फरक–फरक मूल्यमा टिकटको व्यवस्था गरिएको छ ।

बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले पश्चिम नेपालमा महिला फुटबलको विकासका लागि लुम्बिनी कपले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

उनले प्रतियोगिता मार्फत स्थानीय प्रतिभाहरूको पहिचान र प्रोत्साहन हुने बताउँदै महिला फुटबलको प्रवर्द्धनमा लुम्बिनी कपले दीर्घकालीन प्रभाव पार्ने उल्लेख गरे ।

लुम्बिनी प्रदेशमै पहिलोपटक यति ठुलो स्तरमा आयोजना हुन लागेको महिला फुटबल प्रतियोगिताले क्षेत्रीय खेलकुद पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !