३ बैशाख २०८२, बुधबार

देशभर मौसम बदली : चट्याङ्गसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति :  10 April, 2025 8:14 am


काठमाडौँ । देशका विभिन्न स्थानमा आज बिहानैदेखि पानी परिरहेको छ। पश्चिमी र स्थानीय वायुको प्रभावसँगै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाका कारण हाल देशभर मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज कोशी, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

दिउँसोसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका अन्य पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । यो अवस्था रातिसम्म पनि जारी रहने अनुमान गरिएको छ ।

यस्तै, देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षासँगै हिमपात हुने सम्भावना रहेको छ। यसप्रकारको मौसमी अवस्थाले हालसम्म देशभर छाएको बाक्लो तुवाँलो क्रमिक रूपमा कम हुने देखिएको छ।

महाशाखाले चट्याङ्गसहितको वर्षाले दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भन्दै सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ । विशेषगरी यात्रा गर्नेहरू, कृषक, विद्यार्थी र खुला क्षेत्रमा काम गर्नेहरूलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !