शिक्षक आन्दोलनप्रति राप्ती गाउँपालिकाको ऐक्यबद्धता

तुल बहादुर कवँर मगर
दाङ । दाङको राप्ती गाउँपालिकाले काठमाडौँमा जारी शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नेपाल सरकारलाई शिक्षकका जायज माग शीघ्र सम्बोधन गर्न आग्रह गरेको छ ।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई बुधबार पत्र लेख्दै आन्दोलनरत शिक्षकका पेशागत तथा न्यायोचित मागहरू शीघ्र सम्बोधन गर्न आग्रह गरेका हुन् ।
संघीय शिक्षा ऐन अझै जारी नभएकै कारण आफ्नो माग सम्बोधन नभएको भन्दै राप्ती गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरू चैत २० गतेदेखि काठमाडौँ केन्द्रित अनिश्चितकालीन आन्दोलनमा सहभागी छन् ।
यो आन्दोलनका कारण विद्यालयको पठनपाठन, विद्यार्थी भर्ना प्रक्रिया र नतिजा प्रकाशन जस्ता महत्वपूर्ण कार्यहरू प्रभावित भएका छन् ।
राप्ती गाउँपालिकाले नेपालको संविधान र स्थानीय तहलाई प्राप्त अधिकार अनुसार शिक्षा व्यवस्थामा असर नपर्ने गरी शिक्षक तथा कर्मचारीका पेशागत मागप्रति ऐक्यबद्धता जनाएको छ ।
साथै, आन्दोलनरत शिक्षक तथा कर्मचारीहरूलाई उच्च मनोबलका साथ पुनः कार्यक्षेत्रमा फर्कन सक्ने वातावरण निर्माण गर्न नेपाल सरकारलाई हार्दिक अनुरोध गरिएको छ।
गाउँपालिकाले सरकार र आन्दोलनरत पक्षबीच यथाशीघ्र संवाद र सहमति कायम भई शिक्षा क्षेत्र पुनः नियमितताको बाटोमा फर्कन सकोस् भन्ने विश्वास व्यक्त गरेको छ ।