२४ बैशाख २०८२, बुधबार

अमेरिकी राष्ट्रपति ट्रम्पको ‘रेसिप्रोकल ट्यारिफ’ नीतिले विश्व बजारमा तरंग

प्रकाशित मिति :  10 April, 2025 12:20 pm


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको ‘रेसिप्रोकल ट्यारिफ’ (जस्तालाई तस्तै भन्सार दर) नीति अन्तर्गत चीनमाथि लगाइएको भन्सार शुल्क १२५ प्रतिशतले वृद्धि गरिएको छ, जुन तुरुन्तै कार्यान्वयनमा आएको छ । तर अन्य देशहरूका हकमा भने यो नीति तत्काल लागू नगर्ने निर्णय गरिएको छ । ट्रम्पले आगामी ९० दिन अर्थात् तीन महिनासम्म यो नीति स्थगन गर्ने बताएका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा लेख्दै भनेका छन्, “विश्व बजारप्रति चीनले सम्मान नदेखाएकाले म अमेरिकाले चीनलाई लगाएको कर १२५ प्रतिशतमा बढाउँदैछु, जुन तुरुन्तै लागू हुनेछ । आशा छ– चीनले चाँडै बुझ्नेछ कि अमेरिका र अन्य देशलाई आर्थिक रूपमा निरन्तर हानि पुर्याउने दिन सकिएको छ र यो पनि स्वीकार्य छैन ।”

यो घोषणाले विश्वव्यापी आर्थिक वातावरणमा तरंग ल्याएको छ । ट्रम्पको नयाँ भन्सार नीतिको अमेरिका भित्रै र बाहिर कडा आलोचना भइरहेको छ । शक्तिराष्ट्रहरूमा यसको तत्काल असर देखिएको छ भने विकासोन्मुख राष्ट्रहरू पनि त्यसको प्रभावबाट अछुतो रहने छैनन् भन्ने विश्लेषण भइरहेको छ ।

नेपाल पनि यस असरबाट पूर्णतः अछुतो रहन सकेन । नयाँ ट्यारिफका कारण नेपालबाट अमेरिका निर्यात हुने वस्तुहरूमा अब १० प्रतिशत भन्सार तिर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

यसले नेपाली उत्पादनको मूल्य वृद्धि गराउँदा प्रतिस्पर्धात्मक क्षमता घट्ने जोखिम उत्पन्न भएको उद्योगी तथा व्यवसायीहरूको भनाइ छ । यद्यपि, शक्तिराष्ट्रहरूलाई लागू गरिएको १२५ प्रतिशतको तुलनामा १० प्रतिशत करदर कम भएकोले नेपालका व्यवसायीहरूले केही राहत महसुस गरेका छन् ।

नेपालका एक उद्योगीका अनुसार, “अमेरिका हाम्रो सानो बजार भए पनि त्यहाँको नीति परिवर्तनले हामीमाथि असर पर्छ । नयाँ ट्यारिफले लागत बढाउनेछ, जसले हाम्रो प्रतिस्पर्धा क्षमतामा असर पुर्याउँछ । तर चीन वा अन्य ठूला मुलुकको तुलनामा हामीले केही हदसम्म सहज महसुस गरिरहेका छौं ।”

ट्रम्प प्रशासनको यस्तो नीति वैश्विक व्यापारमा संरक्षणवादको प्रवृत्तिलाई झनै तीव्र बनाउने विश्लेषण भइरहेको छ । अर्थशास्त्रीहरू चेतावनी दिँदै भन्छन् कि यस्तो भन्सार वृद्धि नीतिले विश्व अर्थतन्त्रमा व्यापार तनाव बढाउनेछ र यसले अन्ततः मन्दी निम्त्याउने सम्भावना बलियो बनाउँछ ।

विश्व बजारमा यस घटनाको तत्काल प्रभाव पनि देखिन थालेको छ । प्रमुख स्टक सूचकांकहरूमा गिरावट आएको छ भने व्यापार र निर्यातमा आधारित देशहरूमा चिन्ता बढेको छ । ट्रम्पको यो नीति अमेरिकी चुनावी वर्षमा घरेलु उद्योगलाई संरक्षण गर्ने प्रयासका रूपमा हेरिएको छ भने चीनप्रति कडाइको संकेतसमेत मानिएको छ ।

अब हेर्न बाँकी छ– चीनको प्रतिक्रिया के हुन्छ र बाँकी देशहरूले कस्तो कूटनीतिक र व्यापारिक रणनीति अख्तियार गर्छन् । तर यथार्थ यत्ति हो कि ट्रम्पको यो नीति बहुपक्षीय व्यापार व्यवस्थामाथिको दबाबका रूपमा देखा परेको छ, जसले साना अर्थतन्त्र भएका मुलुकहरूलाई समेत सन्त्रस्त बनाएको छ ।



प्रतिक्रिया दिनुहोस !