चट्याङ र हावाहुरीले राेल्पामा किशोरीको मृत्यु

दाङ । लुम्बिनी प्रदेशमा बुधबार राति हावाहुरी, वर्षा र चट्याङले जनधनको क्षति पुर्याएको छ। चट्याङ लागेर रोल्पामा एक किशोरीको मृत्यु भएको छ भने विभिन्न स्थानका भवनहरूमा क्षति पुगेको छ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दानबहादुर कार्कीका अनुसार चट्याङ लागेर रोल्पा नगरपालिका–१० कुटिबाङ घर भई सुनिलस्मृति गाउँपालिकास्थित आफन्तको घरमा बस्न गएकी १५ वर्षिया किशोरीको ज्यान गएको हो ।
उक्त घटनासँगै हावाहुरी र चट्याङले विभिन्न सरकारी संरचनाहरूमा क्षति पुर्याएको छ । बाँकेको बनकट्टास्थित इलाका प्रहरी कार्यालयको तीनकोठे भवनको टिनको छानो उडाएको छ भने पाल्पाको बल्डेङगढीस्थित वडा कार्यालयको भवन पनि क्षतिग्रस्त भएको छ। ती भवनहरू हालका लागि बस्न अयोग्य बनेको डीआईजी कार्कीले जानकारी दिए ।
रोल्पाको गंगादेव गाउँपालिका, अर्घाखाँचीको पाणिनी गाउँपालिका र बाँकेको सुर्खेत रोड क्षेत्रमा पनि हावाहुरीले ठूलो क्षति पुर्याएको छ। बाँकेको सडकबीचमा रोपिएका बोटबिरुवा ढलेका छन्, जसले सडक आवागमनमा अवरोध उत्पन्न गराएको छ।
बर्दियाको मधुवन नगरपालिका–१ स्थित शंकर रावलको फुसले छाएको दुई कोठे घरमा चट्याङ लागेर आगलागी भएको खबर प्राप्त भएको छ । यसैगरी पाल्पाको तानसेन नगरपालिका वडा नं. ६ मा सञ्चालित महोत्सवमा रहेका स्टलहरू पनि हावाहुरीले भत्काइदिएको छ ।
प्रदेशका १२ वटै जिल्लामा मौसमजन्य घटनाबाट क्षति पुगेको र त्यसको विवरण संकलनको कार्य जारी रहेको डीआईजी कार्कीले बताएका छन् ।
सरकारले तत्काल राहत र पुनःनिर्माण कार्य अगाडि बढाउने तयारी गरिरहेको जनाइएको छ । स्थानीय प्रशासन, प्रहरी तथा सुरक्षा निकाय घटनास्थलमा परिचालित छन् ।
स्थानीयवासीहरूलाई अत्यधिक सतर्कता अपनाउन र सम्भावित प्राकृतिक प्रकोपबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।