९ बैशाख २०८२, मंगलबार

पाणिनिको नाममा गुञ्जिएको अर्घाखाँची : ज्ञान, संस्कृति र पर्यटनको पुनर्जागरण

प्रकाशित मिति :  10 April, 2025 7:19 pm


दाङ । प्राचीन संस्कृत व्याकरणका पिता महर्षि पाणिनिको स्मृतिमा अर्घाखाँचीको पाणिनी गाउँपालिकामा सुरु भएको पाणिनी तपोभूमि सम्मेलन नेपाली ज्ञान, संस्कृति र पर्यटनको पुनर्जागरणतर्फको ऐतिहासिक पाइला सावित भएको छ ।

हिजाेदेखि सुरु भएकाे सम्मेलनले पाणिनिको योगदानमात्र स्मरण गरेको छैन, यसले समकालीन संस्कृत शिक्षा, वैदिक चिन्तन र आधुनिक भाषाशास्त्रलाई जोड्दै नयाँ सम्भावनाहरूको ढोका पनि खोलिदिएको छ।

संस्कृतका विद्वानहरू, धर्मगुरु र नीति निर्माता एउटै मञ्चमा
लुम्बिनी प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् र पाणिनी गाउँपालिकाको संयुक्त आयोजनामा भएको सम्मेलनमा संस्कृतका प्रतिष्ठित विद्वान, धर्मगुरु, अनुसन्धानकर्ता र नीति निर्माता एउटै मञ्चमा उभिएर पाणिनिको चिन्तनमाथि गहन विमर्श गरेका छन् ।

नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा. गुरुप्रसाद सुवेदीदेखि उपप्राध्यापक राजेश घिमिरेसम्मका विद्वानहरूले अष्टाध्यायीका दार्शनिक आधार, भाषिक संरचना र समकालीन उपयोगितामाथि विचार व्यक्त गरे । अष्टाध्यायीलाई “मानव इतिहासको पहिलो भाषिक कम्प्युटर” भन्दै यसको योगदान केवल वैदिक संस्कृतमा सीमित नराख्नुपर्नेमा उनीहरूको जोड थियो।

चार कार्यपत्र र विविध विमर्श
सम्मेलनमा चारवटा कार्यपत्र प्रस्तुत गरिए, जसमा महर्षि पाणिनि तपोभूमिको परिचयदेखि गुरुयोजनासम्मका विषय समेटिए । नेपाल राष्ट्रिय माविका पूर्व प्रधानाध्यापक रामप्रसाद पोखरेल, प्रा. नवराज पाण्डेय, प्रा. डा. गुरुप्रसाद सुवेदी र सचिव भिमार्जुन पाण्डेले क्रमशः पाणिनिको इतिहास, सूत्र, साहित्य र गुरुयोजनामाथि कार्यपत्र प्रस्तुत गरे । यी कार्यपत्रमाथि भएका टिप्पणी र बहसले पाणिनिको विचारदर्शनलाई समसामयिक परिवेशमा पुन:स्थापित गर्ने प्रयास गरेको देखिन्छ।

सम्मेलनमा रामप्रसाद पोखरेलले पाणिनिको परिचय र महत्त्व विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् । सो कार्यपत्रमा नेपाल सरकारका पूर्व उपसचिव सूर्यप्रसाद भुसाल र रामप्रसाद भट्टराईले टिप्पणी गरेका छन् । प्राध्यापक नवराज पाण्डेले पाणिनिका सूत्र र कृतिका बारेमा कार्यपत्र प्रस्तुत गरेका छन्, जसमा रुरु संस्कृत विद्यापिठका उपप्राध्यापक भरत भट्टराईले टिप्पणी गरेका छन्।

त्यस्तै, नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङका प्रा. डा. गुरुप्रसाद सुवेदीले संस्कृत भाषा र साहित्य विषयमा कार्यपत्र प्रस्तुत गरेका छन्, जसमा प्रा. रमेश ढकालले टिप्पणी गरेका छन् । यस सम्मेलनमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव इन्जिनियर भिमार्जुन पाण्डेले पाणिनि तपोभूमीको गुरुयोजना विषयमा कार्यपत्र प्रस्तुत गरेका छन्, जसमा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लिराज आचार्यले टिप्पणी गरेका छन् ।

‘अष्टाध्यायी’ देखि ‘संस्कृत ग्राम’ सम्म
पाणिनिको कृतिलाई केवल शास्त्रीय बहसमा सीमित नराखी, यसलाई शिक्षा, पर्यटन र अनुसन्धानसँग जोड्ने उद्देश्य सम्मेलनले देखाएको छ। सम्मेलनमा ‘संस्कृत ग्राम’, पाणिनी डिजिटल संग्रहालय र शोध संस्थान जस्ता योजनाहरू सार्वजनिक भएका छन्।

पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले भने, “हामी पाणिनिको भूमिलाई ज्ञान र पर्यटनको संगमस्थल बनाउने लक्ष्यसहित अघि बढिरहेका छौं। यो सम्मेलन अवसरको ढोका हो ।”

पाणिनी सम्मेलन : भविष्यका लागि आधार
पाणिनी तपोभूमि सम्मेलन केवल विगतको सम्झना होइन, यो नयाँ पुस्ताका लागि प्रेरणा हो। संस्कृत भाषा, दर्शन, पर्यटन र शिक्षा क्षेत्रलाई जोड्दै सम्मेलनले लुम्बिनी प्रदेशको प्राज्ञिक, आध्यात्मिक र पर्यटकीय केन्द्र बन्ने सपना सजाएको छ।

यस सम्मेलनले देखाएको मार्गले प्राचीन ज्ञानको पुनर्जागरण र समकालीन प्रयोगबीच सेतु निर्माण गर्दै ‘गौरवशाली इतिहास’ लाई ‘उज्ज्वल भविष्य’ मा रुपान्तरण गर्ने संकेत दिएको छ ।



प्रतिक्रिया दिनुहोस !