नेताहरूको संघीयता विरोधी मानसिकताका कारण संघीयतामाथि प्रश्न उठ्योः मन्त्री गुरुङ

काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले नेताहरुको संघीयता विरोधी मानसिकताका कारण संघीयतामाथि प्रश्न उठेको बताएका छन् ।
बिहीवार ललतिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । राजनीतिक दलहरुले शिर्ष नेताहरुलाई प्रदेशमा पठाउन नसेकको कारण प्रदेशले आफ्नो औचित्य पुष्टि गर्न नसकेको उनको भनाइ छ ।
प्रदेशका समस्याहरु बल्झिएको र संघीयतामाथि प्रश्न उठ्न थालेकोले सरकार अन्तरप्रदेश परिषद्लाई व्यवस्थित बनाउन लागि रहेको दाबी गरे ।
उनले तीन तहको सरकारबिच समन्वय र सहार्यको वातावरण बनाउन राष्ट्रिय समन्वय परिषद् समेत गठन गरिएको बताए । उनले संघीयताको सफल कार्यान्वयन गरी बलियो बनाउने कानून र ऐन बनाउन जरुरी रहेको बताए ।
उनले वित्तीय संघीयता कार्यान्वयन गर्ने ऐन हुँदाहुँदै पनि वित्तीय संघीयता कमजोर हुँदै गएको बताए । प्रदेश सरकार र स्थानीय सरकारलाई अधिकार सम्पन्न नबनाएसम्म संघीयताको सफल कार्यान्वयन गर्न नसकिने उनको भनाइ छ ।
मुलुकमा रहेको विकासको असमानतालाई हटाउन तल्लो तहलाई वित्तीय अधिकार प्रदान गर्नु आजको आवश्यकता रहेको उनको भनाइ छ ।