प्रधानमन्त्री ओलीको निर्देशन-उत्पादन र रोजगारी वृद्धि गर्ने बजेट ल्याउनुहाेस्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्ने उद्देश्यले जनताको आवश्यकता र प्राथमिकतामा आधारित बजेट ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार आयोजित आगामी आर्थिक वर्षको बजेट तर्जुमा र प्राथमिकता निर्धारणसम्बन्धी छलफलमा प्रधानमन्त्री ओलीले स्पष्ट रूपमा उत्पादनमूलक कार्यक्रम र रोजगारी सिर्जनाका योजना समावेश गरिनुपर्नेमा जोड दिए।
सुशासन र शान्तिका लागि बलियो सुरक्षा र स्रोत व्यवस्थापन
प्रधानमन्त्री ओलीले शान्ति, सुरक्षा, भ्रष्टाचार नियन्त्रण र जनतालाई सहज सेवा–सुविधा प्रदान गर्ने विषयलाई बजेटमा प्राथमिकतामा राख्न निर्देशन दिए । उनले शान्ति खल्बल्याउने तत्वहरू सक्रिय भइरहेकाले सुरक्षा प्रवन्ध र स्रोत साधनको तयारीमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।
संघीय संसदमा हरेक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिँदै आएको छ। त्यसको तयारीस्वरूप प्रधानमन्त्री ओलीले बिहीवार सबै मन्त्रालयका मन्त्री तथा सचिवहरूसँग संयुक्त छलफल गरेका हुन् ।
छलफलपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले बजेट तर्जुमा प्रणालीमा सुधार ल्याउँदै विगतका अव्यवस्थित प्राथमिकताहरू सच्याउने गरी छलफल भएको जानकारी दिए । उनले अनावश्यक खर्च कटौती, परियोजना बैंकको कार्यान्वयन, र राजस्व संकलन वृद्धि जस्ता विषयमा बजेट केन्द्रित गरिने बताए ।
उनले भने, “जुन तरिकाले बजेटहरू बनिरहेका छन्, त्यसमा सुधार (रिफर्म) गरिनेछ। प्राथमिकताहरूको अव्यवस्थित व्यवस्थापनलाई सच्याइनेछ, परियोजना बैंकलाई अक्षरशः लागू गरिनेछ, अनावश्यक खर्च कटौती गरिनेछ, र राजस्व संकलनका उपायहरू तय गरिनेछन् ।”
हालको राजस्व र खर्चको स्थिति
अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म राजस्व संकलन ५५ प्रतिशत, कुल खर्च ५२ प्रतिशत र पुँजीगत खर्च २८ प्रतिशत मात्र रहेको छ। यो अवस्था सुधार गर्न पनि अबको बजेटले मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।