निक्षेप र कर्जा प्रवाहमा वृद्धि, वित्तीय क्षेत्र विस्तार हुँदै

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा नेपालका बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन र कर्जा प्रवाहमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार, गत वर्षको तुलनामा वृद्धिको दर केही घटे पनि समग्र आर्थिक गतिविधिमा सकारात्मक संकेत देखिएको छ ।
निक्षेप ४.३ प्रतिशतले बढ्यो
बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप आठ महिनामा दुई खर्ब ७७ अर्ब २३ करोड रुपैयाँले वृद्धि भएको छ, जुन ४.३ प्रतिशतको वृद्धिदर हो ।
अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धिदर ७.६ प्रतिशत रहेको थियो। वार्षिक विन्दुगत आधारमा २०८१ फागुन मसान्तसम्म निक्षेप ९.५ प्रतिशतले बढेको देखिन्छ ।
गत फागुन मसान्तमा कुल निक्षेपमा चल्ती खाताको अंश ५.४ प्रतिशत, बचत खाताको ३५.३ प्रतिशत र मुद्दती खाताको ५१.७ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षमा भने क्रमशः ६.५, २८.० र ५८.७ प्रतिशत थियो। संस्थागत निक्षेपको अंश हाल ३५.४ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ३६.५ प्रतिशत थियो ।
निजी क्षेत्रमा कर्जा प्रवाहमा ६ प्रतिशतको वृद्धि
बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा तीन खर्ब ४ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ, जसले ६ प्रतिशतको वृद्धिदर देखाउँछ ।
अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धि ४.२ प्रतिशत मात्र थियो। वार्षिक विन्दुगत आधारमा हेर्दा, निजी क्षेत्रतर्फ कर्जा प्रवाह ७.७ प्रतिशतले वृद्धि भएको छ ।
कर्जाको वितरणमा गैरवित्तीय संस्थागत क्षेत्रले ६३.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रले ३६.८ प्रतिशत अंश ओगटेका छन् । यो वितरण अघिल्लो वर्षको तुलनामा स्थिर देखिन्छ ।
विभिन्न बैंक समूहको कर्जा प्रवाह
कर्जा प्रवाह वृद्धिमा वाणिज्य बैंकको योगदान ६.३ प्रतिशत, विकास बैंकको ३.१ प्रतिशत र वित्त कम्पनीको ५.७ प्रतिशत रहेको छ । कर्जाको धितोमा आधार गरेर हेर्दा, चालु सम्पत्तिमा १४.५ प्रतिशत र घरजग्गा धितोमा ६५.२ प्रतिशत लगानी भएको छ । अघिल्लो वर्ष यी दरहरू क्रमशः ११.७ प्रतिशत र ६७.५ प्रतिशत थिए ।
क्षेत्रगत रूपमा कर्जाको प्रवाह
कर्जाको क्षेत्रगत विश्लेषण गर्दा औद्योगिक उत्पादन क्षेत्रमा ९.३ प्रतिशत, निर्माण क्षेत्रमा ९.५ प्रतिशत, थोक तथा खुद्रा व्यापारमा ४.४ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवामा ७.८ प्रतिशत, सेवा उद्योगमा ८.० प्रतिशत र उपभोग्य क्षेत्रमा ६.७ प्रतिशतले वृद्धि भएको छ ।
कर्जाको प्रकार अनुसार वृद्धिदर
कर्जाको प्रकार अनुसार आवधिक कर्जा ३.७ प्रतिशतले, मार्जिन कर्जा ३१.५ प्रतिशतले, ट्रस्ट रिसिट (आयात) कर्जा ५८.१ प्रतिशतले, हायर पर्चेज कर्जा ४.७ प्रतिशतले, नगद प्रवाह कर्जा ३.६ प्रतिशतले र रियल स्टेट कर्जा ५.९५ प्रतिशतले बढेका छन् । तर, अधिविकर्ष कर्जा भने १२.६ प्रतिशतले घटेको छ ।
आन्तरिक कर्जामा सामान्य वृद्धि
आठ महिनाको अवधिमा कुल आन्तरिक कर्जा १.८ प्रतिशतले बढेको छ, जुन अघिल्लो वर्षको ४ प्रतिशत वृद्धिदरतुलनामा कम हो । वार्षिक विन्दुगत आधारमा आन्तरिक कर्जा ३.९ प्रतिशतले बढेको छ ।
यस अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी २२.२ प्रतिशतले घटेको छ, जबकि अघिल्लो वर्ष यो ४.९ प्रतिशतले घटेको थियो । निजी क्षेत्रमाथिको मौद्रिक दाबी भने ६.८ प्रतिशतले बढेको छ, जुन अघिल्लो वर्षको ५.६ प्रतिशत वृद्धिदरतुलनामा उच्च हो ।