नेपाली श्रम बजारमा विदेशीहरू रोजगारीका निम्ति आउने परिस्थिति निर्माण गर्ने मिसनमा छौँः अर्थमन्त्री

काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली श्रम बजारमा विदेशीहरू रोजगारीका निम्ति आउने परिस्थिति निर्माण गर्ने बताएका छन् ।
शुक्रवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० र ३१ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले देशभित्र रोजगारीका अवसरहरू सिर्जना गर्ने र देशका नागरिकहरूलाई खुशीसाथ स्वदेशमै राख्ने वातावरण निर्माण गर्न सरकार लागिरहेको बताएका हुन् ।
उनले अहिले नेपालीहरू अन्तर्राष्ट्रिय श्रम बजारमा रोजगारीका लागि जाने गरेको भन्दै नेपाली श्रम बजारमा विदेशीहरूले रोजगारीका निम्ति आउने परिस्थिति निर्माण गर्ने मिसनमा अघि बढिरहेको बताए । अर्थमन्त्री पौडेलले अन्तर्राष्ट्रिय श्रम बजारमा पुगेका नेपालीहरू फुर्ति र सीप लिएर फर्किरहेको बताए। आफ्नो पुँजी र सीपलाई सदुपयोग गरेर राष्ट्र निर्माणमा योगदान गरिरहेको बताए ।
उपप्रधानमन्त्री पौडेलले आज नेपालीहरू अन्तर्राष्ट्रिय श्रम बजारमा जाने अवस्था रहेको भन्दै सम्मानित र सुरक्षित ढंगले श्रम बजारमा उपस्थिति जनाउनसक्ने, आर्थिक उपार्जन गर्नसक्ने र सुरक्षित ढंगले आफ्नो देश फर्किनसक्ने परिस्थिति निर्माण गर्न सक्नुपर्ने बताए ।