काँग्रेस बाहेक अन्य राजनीतिक दलहरूको अर्थनीति छैनः स्वास्थ्यमन्त्री पौडेल

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली काँग्रेस बाहेक अन्य राजनीतिक दलहरूको अर्थनीति नरहेको बताएका छन् ।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आजको नेपालको अर्थतन्त्रको उदारीकरण नेपाली काँग्रेसले गरेको दाबी गरेका हुन् । उनले नेपाली काँग्रेसबाहेक नेपालमा अरू राजनीतिक दलहरूले मेरो अर्थनीति यो हो भनेर भन्न नसकेको जिकिर गरे ।
उनले काँग्रेसको अर्थनीतिमै अरू राजनीतिक दलहरू हिँडिरहेको बताए ।उनले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालमा धेरै कामहरू भएको बताए । उनले अन्तर्राष्ट्रिय रूपमा अरूले गर्न नसकेको उपलब्धिहरू पनि नेपालले गरेको बताए ।
उनले चालु खर्च घटाउन जरुरी रहेको र मितव्ययिता अपनाउन जरुरी रहेको बताए । २७५ को संसदको संख्या घटाएर २०१ मा झार्नुपर्ने आवश्यकता रहेको बताए। प्रदेश सभाको सांसद संख्या आधा घटाउनुपर्ने प्रस्ताव गरे ।
पालिकाको संख्या घटाएर वडाको संख्या बढाउनुपर्ने बताए । मन्त्री पौडेलले शहीदहरुले रगत बगाएर ल्याएको गणतन्त्रमाथि प्रश्न गर्ने स्थिति नरहेको जिकिर गरे ।