हत्याको त कुरै छोड्नुस्, मैले एक जनालाई पिटेको समेत छैनः अध्यक्ष दाहाल

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरूले १७ हजारको हत्यारा आफूलाई भनिरहँदा पार्टी निकट नेता\कार्यकर्ताहरूले प्रतिवाद नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले १७ हजार मानिसहरु युद्धको नियमानुसार मारिएको बताएका हुन् । उनले त्यसबेला राज्य पक्षले कति र विद्रोही पक्ष (तत्कालिन माओवादी) ले कति हत्या गर्याे भन्नेकुरा अध्ययन गर्न सकिने बताए ।
उनले बिना अध्ययन आफूमाथि आरोप लगाइएको भन्दै आपत्ति जनाए । उनले १७ हजार मानिस प्र्रचण्डले मारेको भन्ने आरोपको खण्डन गर्दै आफूले अहिलेसम्म एक जनालाई पनि नपिटेको बताए । उनले तत्कालीन युद्धको नेतृत्व आफूले गरेको र शान्तिमा आएपछि सम्पूर्ण कुराको जिम्मा लिएको बताए ।
अध्यक्ष दाहालले सबै नेताहरु उस्तै हुन् भन्ने भाष्य बनाइएको भन्दै आपत्ति जनाए । लोकतन्त्रलाई नेतातन्त्र भनेकोप्रति पनि उनको असन्तुष्टि छ । उनले यसको फाइदा निरंकुश र तानाशाहीलाई भइरहेको बताए । अध्यक्ष दाहालले यौनजन्य हिंसामा परेका हजारौँ पीडित महिलाहरूलाई अगाडि ल्याउन कोही न कोहीले जोखिम उठाउनुपर्ने बताए ।
द्वन्द्वकालमा यौनजन्य हिंसामा राज्य पक्ष र विद्रोही पक्ष कति जिम्मेवार छ भन्नेकुरा भन्न डराउन नहुने बताए ।