अल्फाबेट मन्टेश्वरीको प्रथम अभिभावक दिवस तथा ग्र्याजुएसन कार्यक्रम सम्पन्न

काठमाडौँ । तारकेश्वर नगरपालिका–६ स्थित पैँयाटारमा रहेको अल्फाबेट मन्टेश्वरीले पहिलोपटक अभिभावक दिवस तथा ग्र्याजुएसन कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालय प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा शिक्षा क्षेत्रमा लामो समयदेखि संलग्न व्यक्तित्वहरूले प्रि–स्कुल शिक्षाको महत्व र मन्टेश्वरी पद्धतिको प्रभावकारितामाथि धारणा राखेका थिए।
कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ६ का अध्यक्ष घनश्याम श्रेष्ठले पैँयाटारजस्तो नयाँ वस्तीमा मन्टेश्वरी विद्यालय सञ्चालनमा आएसँगै स्थानीय अभिभावकलाई बालबालिकालाई गुणस्तरीय शिक्षामा जोड्न सजिलो भएको बताए।
उनले भने, “मन्टेश्वरी पद्धति आफैँमा उत्कृष्ट छ, अल्फाबेट मन्टेश्वरीले त्यसको मर्मअनुसार नानीबाबुहरूको सिकाइमा टेवा पुर्याउनेमा म विश्वस्त छु।” अध्यक्ष श्रेष्ठले नगरपालिकाबाट प्रि–स्कुलहरूको निगरानीसहित परामर्श र आवश्यक सहयोग प्रदान गरिने उल्लेख गरे।
अध्ययन फाउण्डेसनका निर्देशक शरणकुमार अर्यालले बालबालिकाको सिकाइ यात्रा विद्यालय र अभिभावकको साझा प्रयासबाट सफल हुने बताउँदै दुवै पक्षबिच आपसी सल्लाह र सहकार्य आवश्यक रहेकोमा जोड दिए। “विद्यालय दोस्रो घर हो भने, घर दोस्रो विद्यालय हो,” उनले भने, “घनिष्ठ सहकार्यबाट मात्रै समग्र विकास सम्भव छ।”
बाल उद्दार मा.वि. कपनका प्रधानाध्यापक विनोद पण्डितले प्लेग्रुपदेखि यूकेजीसम्मको सम्वेदनशील समय व्यवस्थापन गर्दै बालबालिकालाई अक्षर चिन्न र लेख्न सक्ने बनाउनु चुनौतीपूर्ण कार्य भएको बताए। उनले यस्ता विद्यालयहरूलाई सम्बन्धित निकायले आवश्यक हौसला र सहयोग प्रदान गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा सहभागी अभिभावक अमृतजंग खड्काले विद्यालयले तीन वर्षमा आफूले अपेक्षा गरेकोभन्दा उत्कृष्ट प्रदर्शन गरेको बताए।
उनले भने, “तीन जना बच्चामात्र रहेका बेला मेरो बच्चा भर्ना गरें। आजकाे स्थिति हेर्दा विद्यालयप्रति गरेको विश्वास सार्थक लागेको छ।”
विद्यालयकी संस्थापक तथा प्रिन्सिपल मुनम गौतमले अभिभावक दिवस विद्यार्थी र अभिभावकका लागि महत्वपूर्ण भएको बताउँदै मन्टेश्वरी शिक्षण विधिमार्फत बालबालिकालाई सिर्जनशील, नैतिकवान र आत्मविश्वासी बनाउने लक्ष्यसहित विद्यालय अघि बढिरहेको जानकारी दिइन्।
सञ्चालक सिर्जना पौडेलले विद्यालय र अभिभावकबीचको सुदृढ सम्बन्धले नै विद्यार्थीको सिकाइलाई गुणस्तरीय बनाउने भन्दै विद्यालय सधैं सल्लाह र सहकार्यको भावनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।