४ बैशाख २०८२, बिहिबार

तुलसीपुरमा निःशुल्क उपचारका लागि सिफारिस लिनेको संख्या बढ्दै

प्रकाशित मिति :  13 April, 2025 7:49 am


दाङ । प्रदेश र संघ सरकारबाट पाउने सेवा सुविधाका लागि स्थानिय तहहरुले सिफारिस दिने गरेका छन् ।

स्थानीय तह मातहत रहेर प्रदेश र केन्द्र सरकारबाट दिर्घरोगी विरामीहरुलाइ विभिन्न किसिमका उपचारमा छुटदेखि सहयोगसम्मका सिफारिस स्थानिय तहले नै दिने गरेका छन् ।

संघ र प्रदेश सरकारले दिने मुटु रोगी, क्यान्सर, मृगौलाका विरामी सिकलसेल एनिमियाका गरिव विपन्न समुदायका विरामीहरुलाई उपचारमा वार्षिक १ लाख र कसैलाई २ लाख बराबरको सहुलियत दिने गरेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०८०÷०८१ मा १ सय ८१ जना दीर्घ रोगी विरामीलाई संघ सरकारबाट एक लाख रुपैयाँ पाइने सेवा सुविधाका लागि सिफरिस दिएको जनस्वास्थ्य निरिक्षक बिमल केसीले जानकारी दिए ।

जसमा ४३ जना मुटु रोगी, ९० जना क्यान्सरपीडित, ७ जना इस्पाइनल इन्जुरी र २ जना सिकलसेल एनिमियाका विरामी रहेका छन् । यस्तै प्रदेश सरकार अन्तर्गत राप्ती प्रादेशिक अस्पतालमा रहेको सामाजिक इकाइ सेवाका लागि ११५ जनालाई सिफारिस दिइएको छ ।

यसैगरी प्रदेश सरकारबाटै प्रदेश स्वाथ्य उपचार आर्थिक २ लाख बराबरको उपचार सुविधाका लागि १ सय १५ जनालाई सिफारिस दिइएको छ । जसमा मृगौला प्रत्यारोपणका लागि ५ जना , क्यान्सर रोगी १ सय १ जना र मुटुको भल्व फेर्ने विरामी ९ जना रहेका थिए ।

तुलसीपुर, उपमहानगरपालिका र राप्ती आँखा अस्पतालको सम्झौता अनुसार ५३७ जनालाई निशुल्क आँखामा भएको मोतियाविन्दुको शल्यक्रियाका लागि सिफारिस प्रदान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !