तुलसीपुरमा विपदका घटना बढे : नौ महिनामा १३६ विपदका घटना

दाङ । तुलसीपुरमा विपदका घटना बढेका छन् । विभिन्न किसिमका प्रकोपहरुबाट क्षति भएर पीडित हुने परिवारको संख्या चालु आर्थिक वर्षको हालसम्म एक सय ३६ पुगेको छ ।
तुलसीपुर उपमहानगरपालिकामा गत वर्षको तुलनामा यो वर्ष तीन महिनाअघि २२ वटा बढी विपतजन्य घटना भएका छन् । आर्थिक वर्ष २०८०÷०८१ मा विभिन्न किसिमका प्रकोपहरुबाट क्षति भएर पीडित भएका एक सय १४ घर परिवारले राहत रकम लिएका थिए ।
पालिकाले गत वर्ष विपत् तथा प्रकोप व्यवस्थापनका लागि ५० लाख रुपैयाँ विनियोजन गरेकोमा ३१ लाख ४८ हजार तीन सय एक रुपैयाँ पालिकाको वन वातावरण तथा विपत् व्यवस्थापन समितिको निर्णयअनुसार सहयोग हस्तान्तरण भएको छ । जसअन्तर्गत विभिन्न किसिमका प्रकोपहरुबाट क्षति भोगेका परिवारका लागि राहतस्वरुप १५ लाख ६१ हजार छ सय रुपैयाँ हस्तान्तरण गरिएको थियो ।
त्यस्तै विपत् व्यवस्थापनसम्बन्धी सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुका लागि दिइएको तालिममा एक लाख पाँच सय ९० रुपैयाँ, जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्प पीडितका लागि बनाइएको कोषमा ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र विपन्न १५ घर परिवारलाई जस्ता पाता सहयोगका लागि तीन लाख ७५ हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
पालिकाले चालु आर्थिक वर्षमा पनि विपत् तथा प्रकोप व्यवस्थापनका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जसअन्तर्गत हालसम्म विभिन्न किसिमका प्रकोपहरुबाट क्षति भएर पीडित परिवारलाई १६ लाख १० हजार रुपैयाँ राहत रकम उपलब्ध गराइसकिएको छ । जसमा वर्षाका कारण घरगोठमा क्षति भएका एक सय परिवारलाई ११ लाख ६८ हजार सहयोग रकम हस्तान्तरण गरिएको छ ।