नयाँ वर्षमा मुख्यमन्त्री आचार्यको सन्देश : ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ वर्ष २०८२ सालको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गरेका छन्।
नववर्षको शुभकामना सन्देशमार्फत् मुख्यमन्त्री आचार्यले नयाँ वर्षलाई अघिल्लो वर्षको समीक्षा गर्ने र भविष्यको मार्गदर्शन तय गर्ने अवसरको रूपमा लिनुपर्ने धारणा व्यक्त गरे । उनले भने, “यो आशा, उत्साह र अपेक्षाको पर्व हो । यस अवसरमा हामीले थाँती रहेका योजना र संकल्पहरूलाई कार्यान्वयनमा ल्याई प्रदेशको समृद्धि र समुन्नतिको लागि सामूहिक प्रयास गर्नु आवश्यक छ ।”
मुख्यमन्त्री आचार्यका अनुसार लुम्बिनी प्रदेश सरकारले जनअपेक्षाअनुसार सुशासन प्रवद्र्धन गर्न, भ्रष्टाचारविरुद्ध रणनीतिक योजना तयार गरी त्यसको प्रभावकारी कार्यान्वयन सुरु गरिसकेको छ। उनले प्रदेश सरकार आफ्ना कामकाजलाई अझ सुशासनमैत्री बनाउँदै लैजाने प्रतिबद्धता समेत जनाए ।
उनले संविधानले प्रत्याभूत गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयनका लागि सरकार निरन्तर क्रियाशील रहेको जानकारी दिंदै जनताको विश्वास र भरोसाको सरकार निर्माण गर्ने दिशामा दृढताका साथ अघि बढिरहेको स्पष्ट पारे।
मुख्यमन्त्री आचार्यले स्थानीय उत्पादनमा आधारित उद्यमशीलता प्रवर्द्धन गर्न ‘नवप्रवर्तन कार्यक्रम’ सञ्चालनमा ल्याइएको उल्लेख गरे। शून्य संरचनाबाट सुरु भएको प्रदेश सरकारलाई संस्थागत गर्दै सबल, सक्षम र जनउत्तरदायी बनाउने दिशामा उल्लेखनीय प्रगति हासिल गरिएको उनको भनाइ थियो ।
शुभकामना सन्देशको अन्त्यमा मुख्यमन्त्री आचार्यले अतीततर्फ फर्काउने प्रवृत्तिलाई निरुत्साहित गर्दै, राजनीतिक स्थायित्वमार्फत समृद्धि र विकासको चाहना पूरा गर्नु आजको प्रमुख आवश्यकता भएको बताए। साथै, उनले नयाँ वर्ष २०८२ सबै नेपालीका लागि न्याय, समानता, अवसर र गरिमामय जीवनको प्रत्याभूति दिलाउने सभ्य र समुन्नत समाज निर्माणका लागि प्रेरणा बनोस् भन्ने कामना समेत व्यक्त गरे ।