१३ बैशाख २०८२, शनिबार

विशेष सम्पादकीय : २०८२ साल-आशाको उज्यालो युगतर्फ लम्कियाेस्

प्रकाशित मिति :  14 April, 2025 11:00 am


२०८१ सालको बिदाइसँगै हामी २०८२ सालमा प्रवेश गरिसकेका छौं-नयाँ समय, नयाँ सोच र नयाँ संकल्पको सुरुवात भएको छ । नयाँवर्ष प्रत्येक वर्ष परिवर्तनको प्रतीक हो-तर वर्ष २०८२, केवल क्यालेन्डर पल्टिएको होइन, एक साँघुरो बाटोबाट उभिएर उज्यालो यात्रा सुरु गर्ने अवसर पनि हो । २०८१ साल नेपाली जनजीवनका लागि विविध आयाममा उथलपुथल, संकल्प, आशा र अन्वेषणको प्रतीक बन्यो । यसले हामीलाई चुनौतीहरूको झझल्को मात्र दिएन, नयाँ सम्भावनाको ढोका पनि खोलिदियो । त्यसैले २०८२ सालको स्वागत केवल परम्परागत शुभकामनाबाट होइन, गहिरो सामाजिक, आर्थिक र राजनीतिक प्रतिबद्धताबाट गर्न आवश्यक छ ।

२०८१ साल राजनीतिक दृष्टिले अशान्तिपूर्ण रह्यो । एकातिर सरकारले शिक्षा, स्वास्थ्य, पूर्वाधार र ऊर्जा क्षेत्रमा नीति निर्माणमा प्रगति गरिरहेको देखियो भने अर्कोतिर राजनीतिक स्थायित्वको गम्भीर प्रश्न उब्जियो । राजावादी आन्दोलनको अराजकता र रवि लामिछानेमाथिको सहकारी ठगी प्रकरणले धमिलो पानीमा माछा मार्ने प्रवृत्तिलाई प्रसय गर्यो । नयाँ वर्षको सुरुवातसँगै अब यो सुनिश्चित गरिनुपर्छ कि कुनै पनि अस्थिरता संविधान, कानुन र जनप्रतिनिधिको जवाफदेहितामा क्षति पुर्याउने दिशामा नजाओस् ।

यस वर्ष नेपालले केही महत्वपूर्ण कूटनीतिक उपलब्धि पनि हासिल गर्यो । कतारका राजाको भ्रमणले रोजगार र लगानीको सम्भावनामा नयाँ सन्दर्भ थप्यो । बिमस्टेक सम्मेलन, स्विडेनसँगको कार्बन व्यापार सम्झौता, प्रधानमन्त्री ओलीको संयुक्त राष्ट्रसंघमा सम्बोधन र चीनसँगको सहकार्यले नेपालले अन्तर्राष्ट्रिय भूमिका स्पष्ट पार्न थालेको देखायो । सानो राष्ट्र भए पनि नेपालले वैदेशिक सम्बन्धलाई सन्तुलनमा राख्दै विश्व राजनीतिमा आफ्नो उपस्थितिलाई गम्भीर ढंगले विस्तार गर्ने रणनीति २०८२ मा थप स्पष्ट होस् भन्ने अपेक्षा गरिन्छ ।

खेलकुदले भने २०८१ मा राष्ट्रिय गौरवलाई उच्चतम स्तरमा पु¥यायो । दीपेन्द्र सिंह ऐरीको ६ छक्काको कीर्तिमान, सन्दिप लामिछानेको १०० विकेट, कामिरिता शेर्पाको २९ औं पटक सगरमाथा आरोहण, साफ महिला फुटबल उपविजेता र महिला टी–२० सिरिजमा प्राप्त उपाधिले नेपाललाई खेलकुद क्षेत्रमा विश्वमान्य बनायो । नयाँ वर्षमा यी प्रेरणाहरू संस्थागत संरचना, लगानी र प्रशिक्षणको माध्यमबाट अझ व्यापक रूपमै विस्तार गरिनु अत्यावश्यक छ ।

प्राकृतिक प्रकोप र जलवायु संकटले २०८१ साललाई सजगता र पूर्वतयारीको चेतावनीपत्रका रूपमा पनि चिनायो । काठमाडौँ उपत्यकामा आएको डुबान, हिमताल विस्फोट र बाढी–पहिरोले जनधनमा भयावह क्षति पु¥यायो । त्रिशूलीमा भएको बस दुर्घटना, सौर्य एअरको विमान दुर्घटना र जलवायु संकेतहरूको अभिलेखले नेपालजस्तो हिमाली राष्ट्र अब सजग मात्र होइन, सक्रिय रुपमा जलवायु संकटको नेतृत्वदायी भूमिका लिने अवस्थामा पुगिसकेको देखायो । यस वर्ष जलवायुअनुकूल पूर्वाधार, विज्ञानमा आधारित योजना र स्थानीय तहसँग सहकार्य गरेर दीर्घकालीन समाधानतर्फ उन्मुख हुनुपर्छ ।

प्रविधिको क्षेत्रमा २०८१ प्रेरणादायी रह्यो । जेनोप्लान प्रणाली, ग्रिन हाइड्रोजन केन्द्र, न्युरालिङ्कको चिप, चन्द्र र मंगल ग्रहको अनुसन्धान, स्टियरिङबिनाको ट्याक्सी र कृत्रिम बौद्धिकताको विश्व बजार विस्तार—यी सबै घटनाले विज्ञान अब केवल विदेशको प्रयोगशालामा सीमित छैन, हाम्रो जीवनशैलीमा गहिरिँदै गएको छ भन्ने देखायो तर क्राउडस्ट्राइक सटडाउनले डिजिटल युगसँगै आउने असुरक्षाको सन्देश पनि दियो । २०८२ मा हामीले प्रविधिको सम्भावना र जोखिम दुबैलाई गम्भीरतापूर्वक लिनुपर्छ ।

आर्थिक सूचकांकहरूको समीक्षा गर्दा २०८१ मा सुधारका संकेत देखा परे । मुद्रास्फीति कम भयो, निर्यात र विप्रेषणमा वृद्धि देखियो, विदेशी मुद्रा सञ्चिति सुदृढ भयो । ठमेल २४ घण्टा खुला गर्ने निर्णय, लगानी सम्मेलन, पोखराको बेलुन महोत्सव र बैंक एकीकरणको घोषणाले आर्थिक पुनरुत्थानको सम्भावना प्रस्तुत गर्यो । २०८२ मा यी सुधारहरू संरचनागत स्थायित्व, रोजगारी सिर्जना, तथा उत्पादनमूलक लगानीमा परिणत हुन आवश्यक छ ।

सामाजिक र सांस्कृतिक पाटोमा पनि २०८१ साल सम्झनलायक रह्यो । भाषिक समावेशीकरण, गोरखापत्रमा रानाथारु र वाम्बुले भाषाको समावेश, झमक घिमिरेजस्ता स्रष्टाको सम्मान र सांस्कृतिक पर्वहरूको संरक्षण—यी सबैले समाजको बहुलता र समावेशी चेतना प्रतिबिम्बित गरे । साहित्य, पत्रकारिता, सिनेमा र कलाका क्षेत्रमा राज्यले देखाएको चासो अझ सघन र दीर्घकालीन होस् भन्ने अपेक्षा २०८२ मा अझ गहिरो रहन्छ ।

शिक्षा र जैविक विविधतामा केही उपलब्धि भए पनि शिक्षक आन्दोलन, विधेयकमा ढिलासुस्ती, विश्वविद्यालय प्रशासनको अव्यवस्था र निर्णय प्रक्रियामा देखिएको जटिलता चिन्ताजनक रहे । जुम्लाको साक्षर जिल्ला घोषणा, नेपाल विश्वविद्यालयको स्थापनाजस्ता कदमहरू महत्वपूर्ण भए ।
२०८१ सालले हामीलाई सिकाएको मूल पाठ हो—संकट सधैं खतरा मात्र हुँदैन, त्यो सुधारको अवसर पनि हो तर सुधार तब मात्र सम्भव हुन्छ जब हामी नीति, नेतृत्व र नागरिक चेतनाको तिनै तहमा जिम्मेवार बनौँ । २०८२ साल त्यो अवसर बनोस्—जहाँ हामी विगतबाट सिकेर भविष्यतर्फ अघि बढ्न सकौँ ।

अन्ततः, २०८२ साल केवल नयाँ तिथिको सुरुवात होइन, राष्ट्रिय आत्मबलको पुनर्जागरण होस् । यो वर्ष हामी सबैका लागि सामूहिक विवेक, सहकार्य र सिर्जनशील यात्राको आधार बनोस् । सरकार, समाज र नागरिक सबैले आ–आफ्नो जिम्मेवारी बोध गरौँ, ताकि २०८२ साल साँच्चिकै आशाको उज्यालो युगको सुरुवातको वर्ष बनोस् ।



प्रतिक्रिया दिनुहोस !