९ बैशाख २०८२, मंगलबार

शिक्षक आन्दोलनको १३ औँ दिन : सरकार र शिक्षक दुवै नैतिक दबाबमा

प्रकाशित मिति :  14 April, 2025 5:58 pm


काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आइतबार १३ औँ दिन पनि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन जारी राखेका छन्।

सरकार र नेपाल शिक्षक महासंघबीच दुई चरण वार्ता भए पनि कुनै निष्कर्ष ननिस्केपछि आन्दोलन लम्बिएको हो । महासंघको नेतृत्वमा चैत २० गतेदेखि सुरु भएको आन्दोलनमा सुरुआती एक सातासम्म शान्तिपूर्ण प्रदर्शन गरिएको थियो तर सरकारका तर्फबाट मागप्रति बेवास्ता देखिएको भन्दै शिक्षकहरूले चैत २६ गतेदेखि शैक्षिक हड्ताल गर्दै आन्दोलनलाई थप चर्काएका हुन् ।

‘विद्यालय शिक्षा ऐन’ जारी गर्न माग गर्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले विगतका सहमति कार्यान्वयन नभएको भन्दै आक्रोश व्यक्त गर्दै आएका छन् ।

“सरकारले संसद्को नियमित अधिवेशन, विशेष अधिवेशन वा अध्यादेशमार्फत् ऐन जारी गर्नुपर्छ”, महासंघले जनाएको छ। सरकारले शिक्षाप्रति गम्भीरता नदेखाएको भन्दै शिक्षकहरूले असन्तुष्टि व्यक्त गरेका छन् । लाखौँ शिक्षक आन्दोलनमा सडकमा रहेका बेला पनि सरकार उदासीन बनेको उनीहरूको आरोप छ ।

गत वर्ष पनि यस्तै माग राख्दै आन्दोलन गरेका शिक्षकहरूसँग सरकारले २०८० साल चैत २० गते सहमति गरेको थियो । सहमतिअनुसार एक वर्षभित्र विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता गरिएको थियो तर सहमति भएको वर्ष दिन बितिसक्दा पनि सरकारले कुनै तयारी नदेखाएपछि शिक्षकहरू पुनः आन्दोलनमा उत्रिएको महासंघले जनाएको छ।

यसबीच, वैशाख २ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुँदैछ । सो दिनदेखि देशभर नयाँ भर्ना तथा घरदैलो अभियान सञ्चालन गर्ने कार्यतालिका रहेकाले शैक्षिक हड्तालले त्यसमा प्रत्यक्ष असर पार्ने देखिन्छ।

सरकार शिक्षकको माग सम्बोधन नगरे आन्दोलन अझ चर्काउने चेतावनी महासंघले दिँदै आएको छ । शैक्षिक सत्र सुरु हुने बेलामा विद्यालय बन्द हुँदा शिक्षारत विद्यार्थी प्रभावित हुने भएकाले शिक्षकहरूलाई पनि आन्दोलन फिर्ता लिएर विद्यालय खोल्न नैतिक दबाब परेको छ। त्यसैगरी, आन्दोलन समाधान गर्न सरकारमाथि पनि सार्वजनिक दबाब बढ्दो छ ।



प्रतिक्रिया दिनुहोस !