एमालेले सात ‘कम्युनिस्ट योद्धा’ लाई सम्मान गर्ने

काठमाडौँ । नेकपा (एमाले) ले पार्टी स्थापना दिवसको अवसरमा कम्युनिस्ट आन्दोलनमा विशेष योगदान दिएका सात व्यक्तित्वलाई ‘कम्युनिस्ट योद्धा’का रूपमा सम्मान गर्ने निर्णय गरेको छ । पार्टी सचिवालयको सोमबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
पार्टीका उपमहासचिव विष्णु रिमाल (ज्ञवाली) का अनुसार वैशाख ९ गते स्थापना दिवसको अवसरमा हुने विशेष कार्यक्रममा कञ्चनपुरका लालबहादुर विश्वकर्मा, जाजरकोटका स्वर्गीय रत्न शर्मा न्यौपाने, दाङका शोभाराम बस्नेत, गोरखाकी बासस्वती देवकोटा, काठमाडौंकी शान्ता मानवी, सप्तरीका सत्यनारायण मण्डल र झापाका हरिचरण शिवाकोटीलाई सम्मान गरिने छ।
साथै, एमालेले वैशाख ११ गते गणतन्त्र दिवसलाई ‘गणतन्त्र उत्सव’का रूपमा भव्य समारोहसहित मनाउने तयारी गरेको छ। उपमहासचिव ज्ञवालीका अनुसार सो दिन निरङ्कुश राजतन्त्र अन्त्य गरी जनताले गणतन्त्र स्थापना गरेको ऐतिहासिक क्षण हो, त्यसैले सो उपलब्धिको स्मरण गर्दै राजधानीमा ठूलो कार्यक्रम आयोजना गरिनेछ ।
‘‘अघिल्लो पुस्ताले संघर्ष गरेर ल्याएको गणतन्त्रको सन्देश आजको पुस्तासम्म पुर्याउने हाम्रो उद्देश्य हो,’‘ उनले भने, ‘‘त्यसैले वैशाख ११ गते काठमाडौंमा गणतन्त्र उत्सवको कार्यक्रम गरिन्छ ।’‘
सचिवालय बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो गतिविधिबारे पनि समीक्षा गरिएको उपमहासचिव ज्ञवालीले जानकारी दिए । आइतबार सार्वजनिक गरिएको शाहको भिडियो सन्देशप्रति आपत्ति जनाउँदै उनले पूर्वराजामा अझै पनि गणतन्त्रविरोधी सोच बाँकी रहेको निष्कर्ष बैठकले निकालेको बताए ।
‘‘उहाँका अभिव्यक्तिहरू प्राप्त उपलब्धि उल्ट्याउने आशयप्रति संकेत गर्छन्,’‘ उनले भने, ‘‘तर जनताको त्याग र बलिदानीबाट प्राप्त गणतन्त्र उल्ट्याउने कोसिस सफल हुन सक्दैन ।’‘