उल्लासपूर्वक मनाइयो नयाँ वर्ष २०८२

काठमाडौँ । विक्रम संवत् २०८२ सालको स्वागत आज देशभर उल्लासपूर्ण वातावरणमा गरिएको छ । नयाँ वर्षको अवसरमा सर्वसाधारणदेखि धार्मिक संघसंस्थासम्मले विविध कार्यक्रम र शुभकामनासहित यो दिनलाई उल्लासमय बनाएका छन् ।
वर्षको पहिलो दिनको सुरुवात धेरैले मठमन्दिरमा गई पूजा आराधना गरेर गरेका थिए । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिमा प्रवेश गर्ने दिन भएकाले आजलाई वैशाख सङ्क्रान्ति वा मेष सङ्क्रान्तिको रूपमा पनि मनाउने परम्परा छ । यो दिनलाई वर्षको जेठो दिनका रूपमा समेत चिनिन्छ, जसको ऐतिहासिक र खगोलशास्त्रीय महत्वसमेत रहेको छ ।
नेपाली समाजमा नयाँ वर्ष आत्मचिन्तन र आगामी योजनाको समय पनि मानिन्छ । हरेक व्यक्तिले गत वर्षका सफलता र असफलताको मूल्याङ्कन गर्दै नयाँ संकल्प लिने, सकारात्मक सोचका साथ वर्ष आरम्भ गर्ने परिपाटी रहेको पाइन्छ ।
घर–आँगन सफा गर्ने, मिठा परिकार तयार पार्ने, परिवार र इष्टमित्रसँग भेटघाट तथा सामाजिक सञ्जाल वा फोनमार्फत शुभकामना आदानप्रदान गर्ने प्रचलन पनि आज व्यापक देखियो ।
देशका विभिन्न भागहरूमा सामूहिक वनभोज, मठमन्दिर तथा स्मारक स्थलहरूको भ्रमणमार्फत पनि नयाँ वर्ष मनाइएको छ। राजधानी काठमाडौँका गार्डेन अफ ड्रीम्स, बौद्ध, पशुपतिनाथ, स्वयम्भूनाथ, टुँडिखेल र विभिन्न पार्कहरूमा भीडभाड देखिन्थ्यो ।
देशभित्र मात्र होइन, विदेशमा रहेका नेपालीहरू पनि आजको दिनलाई सांस्कृतिक र भावनात्मक रूपमा मनाउँदै आफ्नो नेपालीपनको झल्को दिएका छन् ।
राष्ट्रिय धर्मसभा अध्यक्ष प्रा. डा. माधव भट्टराईका अनुसार विक्रम संवत् सूर्यको गतिसँग मेल खाने भएकाले शाश्वत संवत् मानिन्छ। सूर्यको मेष राशिमा प्रवेशसँगै नयाँ संवत् सुरु हुने भएकाले यो संवत् वैज्ञानिक दृष्टिकोणले पनि महत्वपूर्ण रहेको उनको भनाइ छ। विक्रम संवत् सौरमान र चान्द्रमान दुवैको समन्वयमा आधारित रहेको बताउँदै उनले कलियुग सुरु भएको तीन हजार ४६ वर्षपछि विक्रम संवत् सुरु भएको जानकारी दिए ।
नयाँ उमङ्ग, आशा र समृद्धिको कामनासहित सुरु भएको विक्रम संवत् २०८२ साल सबैका लागि सुख, शान्ति र प्रगतिको मार्गदर्शक बनोस् भन्ने शुभेच्छा प्रकट गर्दै आजको दिन नेपाली समाजले हर्षोल्लासका साथ मनायो ।