१४ बैशाख २०८२, आइतबार

यु–१९ विश्वकप छनोटमा नेपालको लगातार दोस्रो जित, ओमान नौ विकेटले पराजित

प्रकाशित मिति :  14 April, 2025 6:25 pm


काठमाडौँ । आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । सोमबार मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले ओमानलाई नौ विकेटले पराजित गर्दै महत्वपूर्ण चार अंक बटुल्न सफल भएको हो ।

ओमानले प्रस्तुत गरेको ११८ रनको लक्ष्य नेपालले मात्र १४.३ ओभरमा दुई विकेट गुमाउँदै सजिलै प्राप्त गर्‍यो । नेपालको जितमा ओपनर निरजकुमार यादवले सर्वाधिक ४६ रनको योगदान दिए ।

अर्का ओपनर साहिल पटेलले ४३ रन बनाउँदै पहिलो विकेटका लागि ८५ रनको सशक्त साझेदारी गरेका थिए । कप्तान नरेन भट्ट १२ र सन्तोष यादव १० रनमा अविजित रहे । ओमानका तर्फबाट सौम्यभविन सम्पतले नेपालका दुवै विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले ३८ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ११७ रन बनाएको थियो । ओमानका जीत व्रजेश शाहले ५२ रनको अर्धशतकीय पारी खेले पनि अन्य ब्याट्सम्यान प्रभावहीन देखिए । सिद्धार्थ सौम्यशंकरले १६ र प्रतिश हेमा रमेशले १० रन बनाए ।

नेपालका लागि युवराज खत्रीले शानदार प्रदर्शन गर्दै सात ओभरमा दुई मेडनसहित १५ रन खर्चेर पाँच विकेट लिए। सन्तोष यादवले दुई विकेट लिँदा अपराजित पौडेल, अशोक धामी र दयानन्द मण्डलले एक/एक विकेट लिए।

यसअघि नेपालले पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई डकवर्थ–लुइस पद्धतिअन्तर्गत पाँच रनले हराएको थियो । दुई खेलमा पराजित ओमान अंकविहीन रहेको छ भने नेपाल अपराजित रहँदै शीर्ष स्थानमा उक्लिएको छ ।

नेपालले अब तेस्रो खेल बुधबार हङकङविरुद्ध खेल्नेछ। यस एसिया छनोटमा नेपाल, यूएई, अफगानिस्तान, हङकङ र ओमान सहभागी छन् । नेपालको बलियो सुरुवातले यु–१९ विश्वकपमा छनोट हुने सम्भावना उज्यालो बनाउँदै लगेको छ।



प्रतिक्रिया दिनुहोस !