आजदेखि दाउन्नेमा राति ६ घण्टा सडक बन्द हुने

दाङ । नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने खण्डमा सोमबारदेखि रातको समयमा यातायात आवागमन बन्द गरेर पहाड काट्ने काम सुरु गरिएको छ ।
पूर्व निर्धारित कार्यतालिका अनुसार चैत २७ गतेदेखि पाँच दिन दिउँसो चार घण्टा बन्द गरिँदै आएको सडक अब १५ दिनसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म बन्द रहने भएको हो ।
दैनिक राति ६ घण्टा सवारी आवागमन रोकिँदा दाउन्ने क्षेत्रमा निर्माण कार्यलाई गति दिने लक्ष्य लिइएको हो । पूर्वतर्फको भेगमा हिलो र धुलोका कारण सवारी सञ्चालनमा कठिनाइ भइरहेकाले रातको समय छानिएको निर्माण आयोजनाले जनाएको छ ।
छिटपुट वर्षा हुँदा समेत बाटो चिप्लो भई सवारी साधन बिग्रनु र जाम लाग्ने समस्या बढेकाले यात्रुहरूले हैरानी खेप्दै आएका छन् । वर्षायाम सुरु हुनु अघिनै जोखिमपूर्ण खण्डको काम सक्न ठेकेदारको आग्रहअनुसार सडक बन्द गरेर काम गरिने निर्णय भएको जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीका एसपी ज्ञानेन्द्र प्रसाद फुँयालले जानकारी दिए ।
उनका अनुसार अघिल्ला पाँच दिन दिउँसो सडक बन्द गरिए पनि अविरल वर्षाका कारण प्रभावकारी रूपमा काम हुन सकेको थिएन।
दाउन्नेको झन्डै १४ किलोमिटर क्षेत्रमा खाल्डाखुल्डी, धुलो र हिलोका कारण आवतजावतमा सास्ती हुने गरेको छ । सडक बन्द हुने समयमा सवारीसाधनलाई पूर्वतर्फ दुम्किबास र पश्चिमतर्फ बर्दघाट, ज्यामिरे तथा हकुई क्षेत्रमा रोकिने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
सडक विस्तारको काम सुस्त हुँदा यात्रु मात्र होइन, सडक छेउछाउका स्थानीय बासिन्दाले पनि लामो समयदेखि सास्ती भोग्दै आएका छन् ।
तीनपटक म्याद थप गरिसकिएको सडक आयोजनाको हालसम्मको भौतिक प्रगति ६१ प्रतिशत मात्र पुगेको छ । आगामी साउनमा पुनः म्याद सकिन लागिरहेको अवस्थामा काम अझै अल्झिएको छ ।