शिक्षक आन्दोलनको १४ दिनः सरकार र शिक्षक दुबै नैतिक दबाबमा

काठमाडाैँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले आज १४ औँ दिनपनि प्रदर्शन जारी राखेका छन् ।सरकार र शिक्षकबिच दुई पटक वार्ता भएपनि कुनै निष्कर्ष ननिस्किएपछि आन्दोलनलाई निरन्तरता दिएका हुन् ।
आन्दोलन नेपाल शिक्षक महासंघको नेतृत्वमा गत चैत २० गतेदेखि काठमाडौँको माईतीघर मण्डलमा शुरु भएको थियो । एक सातासम्मको शान्तिपूर्ण मागमा सरकारले कुनै चासो नदेखाएको भन्दै शिक्षकहरुले चैत २६ गतेदेखि शैक्षिक हड्ताल गरी आन्दोलनलाई थप तिब्रता दिएका छन् ।
सरकार र शिक्षक महासंघबिच विगतमा भएका सम्झौता बमोजिम सरकारले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने उनीहरुको माग छ । लाखौँ शिक्षक सडकमा आएर आन्दोलन गर्दा पनि सरकार शिक्षाप्रति उदासिन बनेको उनीहरुले आरोप लगाएका छन् ।
संसदको नियमित अधिवेशन, विशेष अधिवेशन वा अध्यादेशमार्फत ऐन जारी गर्नुबाहेक अरु विकल्प नरहेको नेपाल शिक्षक महासंघले जनाएको छ । गत चैत्र २० गते भन्दाअघि नै विद्यालय तहका सबै प्रकारका वार्षिक परीक्षा सकिएकाले पठनपाठनमा असर नपुगे पनि आजदेखि नयाँ शैक्षिक वर्ष शुरु हुने भएकाले शैक्षिक हड्तालले प्रत्यक्ष असर गर्ने देखिएको छ ।
आजदेखि देशभरका विद्यालयहरूमा नयाँ विद्यार्थी भर्ना तथा घरदैलो अभियान सञ्चालन हुनुपर्ने शैक्षिक कार्यतालिका रहेको छ । शान्तिपूर्ण आन्दोलनबाट सरकारले माग सम्बोधन नगरे कडा आन्दोलनमा उत्रिने नेपाल शिक्षक महासंघले यसअघि नै बताइसकेको छ । गत वर्ष पनि यही माग राखेर शिक्षकहरूले आन्दोलन गरेका थिए ।
आन्दोलनपश्चात २०८० साल चैत २० गते माग सम्बोधन गर्ने गरी सरकारसँग सहमती भएको थियो । तर सहमति भएको एक वर्ष पुग्दासमेत कार्यान्वयन गर्न सरकारले कुनै संकेत नदेखाएपछि शिक्षकहरू पुनः आन्दोलनमा उत्रिएका हुन् ।
१४ दिनेदखि जारी आन्दोलनको सम्बोधन तथा शिक्षकहरूको माग पुरा गरी शिक्षकहरूलाई तत्काल विद्यालय फर्काउनुपर्ने दबाबमा सरकार रहेको छ भने नयाँ शैक्षिक सत्र सुरू भएसँगै शैक्षिक हड्ताल फिर्ता लिएर विद्यालय सुचारु गर्न शिक्षकहरूलाई पनि नैतिक दबाब परेको छ ।