फोहोरी राजनीतिमा मिसिने होइन, सफा गर्न हो-महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरू फोहोरी राजनीतिमा मिसिन नभई सफा गर्न सक्रिय भएको दाबी गरेका छन् ।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काँग्रेस नेतृत्वको सरकारको कार्यक्षमता सुधार गर्नु मुख्य उद्देश्य भएको स्पष्ट पारे ।
“हामी अहिले पोखरीमा छिरेका छौं, फोहोर सफा गर्न । कहिलेकाहीं बाहिरबाट हेर्दा फोहोर नै देखिन्छ, तर हामी मिसिएका होइनौं, सफा गर्न पसेका हौं,” महामन्त्री थापाले भने, “हामी त्यो फोहोरी राजनीतिमा मिसिने होइनौं, अंग बन्ने होइनौं।”
सरकारप्रति जनविश्वास कायम राख्न ‘गभर्नेन्स’ अर्थात् सुशासनमा काँग्रेस सचेत रहेको भन्दै उनले जनताले अनुभूति गर्ने परिणाममुखी काम गर्न काँग्रेस तयार रहेको बताए । “हामी चाहन्छौं सरकार नचुकोस्, खबरदारी पनि गर्न चाहन्छौं,” उनले भने, “सरकारको परफमेन्स बढोस् भन्ने हाम्रो चाहना हो ।”
थापाले वर्तमान राजनीतिक संरचनामा नागरिकको अवस्था नबदलिनुका कारणमा नेतृत्व शैलीलाई दोष दिए । “नेतृत्व शैली नबदलेसम्म अवस्था बदलिँदैन। परिवर्तनका लागि नेतृत्वको शैली बदल्नुपर्छ,” उहाँले भन्नुभयो, “सम्झाएर र बुझाएर शैली बदल्न नसके नेता नै बदल्नुपर्छ ।”
नेतृत्वमा रहेको समस्याले नागरिकका अपेक्षा अधुरा रहन गएको भन्दै उनले आफ्नो समेत आलोचना गर्दै भने, “समस्या नेतामा छ, म पनि त्यसैभित्र पर्छु। नेताको शैली बदल्न सकिएन भने समस्या समाधान हुँदैन ।”
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा जनअपेक्षाअनुसार सुधार ल्याउन नेतृत्व जिम्मेवार बन्नुपर्ने उनको जोड थियो । नयाँ पुस्ताले व्यवस्थामा सुधारका लागि फोहोरी राजनीतिलाई सफा गर्ने दायित्व लिनुपर्छ भन्ने संकेत पनि उनको भनाइमा देखिएको छ ।