लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीले दिए राजीनामा

दाङ । लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीले सोमबार पदबाट राजीनामा दिएका छन् । भालुवाङस्थित आफ्नो कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमार्फत् चौधरीले औपचारिक रूपमा राजीनामा सार्वजनिक गरेका हुन् ।
पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा गठित मन्त्रिपरिषद्को निर्णयअनुसार चौधरी सन् २०७८ मा चार वर्षको कार्यकालका लागि समितिको अध्यक्षमा नियुक्त भएका थिए ।
उनले दुई वर्षभन्दा बढी समय कार्यभार सम्हाल्दै गढवा गाउँपालिका–१, शितगंगा नगरपालिका–८ र ९ तथा राप्ती गाउँपालिका–२ स्थित कठाहामा जग्गा एकीकरणको प्रारम्भिक कार्य अघि बढाएकाे थियो तर हालको प्रदेश सरकारले कार्यकाल नसकिँदै नेपाली कांग्रेस निकट सुशील कुमार बस्नेत (सुनिल) लाई अध्यक्ष पदमा नियुक्त गरेपछि विवाद उत्पन्न भएको थियो ।
चौधरीले उक्त निर्णयविरुद्ध उच्च अदालत तुलसीपुरमा रिट निवेदन दर्ता गरेका थिए, जसपछि अदालतले तत्कालीन रूपमा उनलाई काम गर्न नरोकिने आदेश जारी गरेको थियो ।
दुवै पक्षले एउटै कार्यालयबाट कार्यसम्पादन गरिरहेकै अवस्थामा अन्ततः प्रदेश सरकारको आग्रहलाई सकारात्मक रूपमा स्वीकार गर्दै चौधरीले बस्नेतलाई सहज रूपमा काम गर्न दिने उद्देश्यले राजीनामा दिएको बताएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “संस्था र सहकार्यलाई प्राथमिकता दिँदै मार्ग प्रशस्त गरेको हुँ । म आज पनि नमुना राजधानी निर्माणको पक्षमा छु र भविष्यमा पनि आवश्यक परेको खण्डमा सहयोग गर्न तयार छु ।”
चौधरीको राजीनामा राजधानी गुरुयोजनाको कार्यान्वयनमा देखिएको अन्योल हटाउने दिशामा एक महत्त्वपूर्ण मोडको रूपमा हेरिएको छ । लामो समयदेखि नेतृत्व दोहोरो भएपछि आयोजना कार्यान्वयनमा अवरोध देखा परेको थियो।
अब नयाँ अध्यक्ष सुशील बस्नेतको नेतृत्वमा लुम्बिनी राजधानी एकीकरण परियोजना पुनः सशक्त ढंगले अघि बढ्ने अपेक्षा गरिएको छ । यस्तो अवस्थामा भूमाफियाको गतिविधि, अवैध प्लटिङ, र योजनाको संरक्षणसम्बन्धी चुनौतीहरूप्रति सशक्त कार्ययोजना र स्पष्ट नेतृत्व अपरिहार्य हुने देखिन्छ ।