१२ बैशाख २०८२, शुक्रबार

काठमाडौँ उपत्यकामा बिहानै भूकम्पको धक्का : पश्चिम नेपालमा पनि सक्रियता कायम

प्रकाशित मिति :  16 April, 2025 6:51 am


काठमाडौँ । काठमाडौँ उपत्यका र वरपरका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ः०५ बजे चीनको डिङ्जे क्षेत्रलाई केन्द्रविन्दु बनाएर ५ म्याग्निच्युडको भूकम्प गएको हो । डिङ्जे नेपालको उत्तरी सिमानाबाट करिब १८ किलोमिटर टाढा पर्छ।

भूकम्पको धक्का काठमाडौँ उपत्यकामा हल्कासँग महसुस गरिएको थियो भने हालसम्म कुनै क्षति वा अप्रिय घटना नभएको जानकारी प्राप्त भएको छैन ।

यसैबीच, पछिल्ला केही दिनदेखि पश्चिम नेपालका विभिन्न स्थानहरूलाई केन्द्रविन्दु बनाएर एकपछि अर्को भूकम्प गइरहेका छन् । मङ्गलबार बिहान ४ः५३ बजे जाजरकोटको कुशे गाउँपालिका–पैंक क्षेत्रमा ४.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो । त्यसको अघिल्लो दिन सोमबार राति ९ः३१ बजे पनि सोही स्थानमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

जाजरकोटको पैंकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पहरूबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण भने सार्वजनिक भएको छैन ।



प्रतिक्रिया दिनुहोस !