१२ बैशाख २०८२, शुक्रबार

पूर्वपश्चिम राजमार्गको पूर्वी खण्डमा गति लिँदै चार लेन विस्तार : सबै साना पुल निर्माण सम्पन्न

नारायणघाट–बुटवल सडकखण्डको गैँडाकोटदेखि दाउन्नेसम्म सवारीसाधनको सहज आवागमन
प्रकाशित मिति :  16 April, 2025 7:00 am


दाङ । नारायणघाट–बुटवल चार लेन विस्तार परियोजनाअन्तर्गत पूर्वी खण्डको गैँडाकोट–दाउन्ने खण्डमा निर्माण हुने सबै २२ वटा साना पुल निर्माण कार्य पूर्णरूपमा सम्पन्न भएको छ । यस्ता पुलमध्ये अधिकांशमा सवारीसाधन सञ्चालन भइसकेको छ भने केहीमा पहुँच मार्गको काम बाँकी रहेको छ ।

नारायणघाट–बुटवल सडक योजना (पूर्वी खण्ड) का सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार २५ मिटरभन्दा छोटा संरचनाहरूलाई साना र २५ मिटरभन्दा लामालाई ठूला पुलको रूपमा वर्गीकृत गरिएका छन् ।

उनका अनुसार, हालसम्म १२ ठूला पुलमध्ये ५ वटाको निर्माण सम्पन्न भइसकेको छ। साथै, २ ठूला पुल सञ्चालनमा आइसकेका छन् भने आगामी असारसम्म थप ३ ठूला पुल तयार हुने अपेक्षा गरिएको छ ।

खनालका अनुसार, गैँडाकोटको जयश्री, बेल्डिहा, मध्यविन्दुको गिरुबारी र अरुणखोलास्थित पुलको निर्माणमा भने केही ढिलाइ भएको छ। विनयी खोलाको पुरानो पुल भाँचिएपछि त्यहाँको निर्माण कार्यमा जनशक्ति र उपकरण केन्द्रित गरिएकोले ती चार पुलमा ढिलाइ भएको हो ।

कालोपत्रे कार्य तीव्र गतिमा
करीब ६५ किलोमिटर लामो पूर्वी खण्डमा अहिलेसम्म ५२.५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। बाँकी चोरमारा बजार, दुम्कीवास, र दाउन्ने क्षेत्रमा कालोपत्रे गर्न बाँकी रहेको जानकारी दिँदै खनालले भने, “दाउन्नेको ४ किलोमिटर बाहेक अन्य क्षेत्रमा यो वर्षा अघि नै कालोपत्रे सक्ने लक्ष्यका साथ काम भइरहेको छ ।”

कुल प्रगति ६३ प्रतिशत
यस खण्डको चैत मसान्तसम्मको भौतिक प्रगति ६३ प्रतिशत पुगेको छ। सम्पूर्ण नारायणघाट–बुटवल ११४ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरिएको छ-पूर्वी खण्ड (नारायणघाट–दाउन्ने, ६५ किमि) र पश्चिमी खण्ड (दाउन्ने–बुटवल, ४९ किमि) ।

सहरी क्षेत्रलाई ध्यानमा राख्दै सडकको दुवै छेउमा अतिरिक्त सर्भिस लेन निर्माणको व्यवस्था गरिएको छ। साथै, दाउन्नेको १४ किलोमिटर सडक खण्डलाई तीन लेनमा विस्तार गरिने भएको छ।

सम्झौता, चुनौती र प्रगति
सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेशन लिमिटेडले सन् २०१९ (वि.सं. २०७५ माघ) मा ग्लोबल टेण्डरमार्फत सरकारसँग ठेक्का सम्झौता गरेको थियो । २०७९ साउनभित्र निर्माण सक्ने लक्ष्य थियो, तर विभिन्न कारणले तेस्रोपटक म्याद थप गरी हालको समयसीमा आगामी असार अन्त्यसम्म तय गरिएको छ ।

परियोजना ढिलिनुका पछाडि थुप्रै कारणहरू रहेको खनाल बताउँछन्-डिपीआरमा उल्लेखभन्दा चार गुणा बढी रुख फाँड्नु परेको, रुख कटानी स्वीकृतिमा ढिलाइ, विद्युत् पोल सार्न समय लाग्नु, निर्माण सामग्री आपूर्तिमा समस्या, र कोभिड–१९ महामारीजस्ता चुनौतीहरूले काममा असर पुर्याएका हुन् ।

पूर्व–पश्चिम राजमार्ग नेपालको प्रमुख यातायात धुरी हो । यो सडकको स्तरोन्नति र चार लेनमा विस्तारले यातायात सहजता, दुर्घटना न्यूनीकरण, आर्थिक गतिविधिमा तीव्रता र क्षेत्रीय विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

सडक निर्माण कार्यले गति लिँदै जाँदा स्थानीयवासी, व्यवसायी र यात्रुहरूमा सहज आवागमनको अपेक्षा बढ्दो छ। बाँकी कामहरू तोकिएको समयसीमाभित्र सम्पन्न हुने हो भने आगामी वर्षातमा यो खण्ड यात्रुहरूका लागि अझ सुरक्षित र सहज बन्नेछ ।



प्रतिक्रिया दिनुहोस !