१२ बैशाख २०८२, शुक्रबार

त्रिभुवननगर जेसीजद्वारा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिने

प्रकाशित मिति :  16 April, 2025 8:29 am


दाङ । दाङ । त्रिभुवननगर जेसीजले विविध कार्यक्रम गरी जेसीज सप्ताह–२०२५ मनाउने भएको छ । यही बैशाख ६ गतेदेखि १३ गतेसम्म आयोजना हुने सप्ताहमा युवाहरूको नेतृत्व र व्यक्तित्व विकास र समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्ने कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष टंक रावत (अनन्त) ले जानकारी दिए ।

उनका अनुसार सप्ताहको अवसरमा जेसीआई को फ्रेमवकर्त भित्र रहेर फरक–फरक विषयमा केन्द्रित कार्यक्रम सञ्चालन गरिनेछ । सप्ताहको पहिलो दिन बैशाख ६ गते क्यालेण्डर विमोचन तथा मानव कल्याण समाज (सेवा घर) लाई सहयोग तथा सेवा आश्रितलाई भोजन कार्यक्रमको आयोजना गरिने अध्यक्ष रावतले जानकारी दिए ।

त्यस्तै दोस्रो दिन बैशाख ७ गते बिहान ८ बजे घोराही–१७ कर्जाहीमा लागुऔषध विरुद्ध उत्प्रेरणा कार्यक्रम कर्जाही स्थित निर्णय पुर्नस्थापना केन्द्रमा सञ्चालन गरिनेछ । यस कार्यक्रमको संयोजन किरण न्यौपानेले गर्नेछन् ।

तेस्रो दिन बैशाख ८ गते भ्याट तथा करसम्बन्धी सचेतना कार्यक्रम सचिवालयमै आयोजना गरिनेछ, जसको संयोजक गणेश वली रहनेछन् ।

चौथो दिन बैशाख ९ गते जलवायु परिवर्तन संरक्षणमा जेसीजको प्रयास सम्बन्धी अन्तक्र्रिया कार्यक्रम मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रको सहकार्यमा गरिनेछ, जसको संयोजक अभिषेक बोहोरा रहेका छन् ।

पाँचौँ दिन बैशाख १० स्थानीय सरकारसँग जेसीज कार्यक्रम अन्तर्गत घोराही उप–महानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीसँग कफी टक गरिनेछ । कार्यक्रमको संयोजन महेश बस्नेतले गर्नेछन् ।

छैठौं दिन बैशाख १२ गते व्यवसायिक अन्तरक्रिया कार्यक्रम गरिनेछ, जसको संयोजन रणबहादुर खड्काले गर्नेछन् । सप्ताहको अन्तिम दिन बैशाख १३ गते बाह्रकुने दहमा साहित्यिक रसपान कार्यक्रमसहित समापन कार्यक्रम गरिनेछ । यो कार्यक्रममा संयोजक श्यामकुमार गिरी रहेका छन् ।

जेसीज सप्ताहका सम्पूर्ण कार्यक्रमहरूको समन्वयका लागि बाबुराम पाण्डेयलाई मूल संयोजक तोकिएको अध्यक्ष रावतले जानकारी दिए । उनका अनुसार सप्ताहले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र युवाहरूलाई जिम्मेवार नागरिकको रूपमा अघि बढ्न प्रेरित गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !