२६ बैशाख २०८२, शुक्रबार

देशका अधिकांश क्षेत्रमा हावाहुरी र वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति :  17 April, 2025 7:27 am


काठमाडौँ । आगामी केही दिन देशका धेरै भूभागमा हावाहुरी, मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।

हाल गहुँ, मसुरो जस्ता बाली काट्ने समय भएकाले किसानहरूलाई मौसम पूर्वानुमानको जानकारी लिएर मात्र बाली काट्न आग्रह गरिएको छ ।

मौसमविद् बिनु महर्जनका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव सक्रिय रहेको छ । यही कारणले मेघगर्जन, चट्याङ, हावाहुरी, वर्षा र हिमपातजस्ता गतिविधिहरू देखिन सक्ने सम्भावना उच्च रहेको छ ।

विशेष गरी वैशाख ४ गते (बिहीबार) कोशी प्रदेशका एक–दुई स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्नेछ। बाँकी प्रदेशहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमानमा जनाइएको छ । साथै, हिमाली क्षेत्रमा केही स्थानमा हल्का हिमपात पनि हुन सक्नेछ ।

वैशाख ५ गते (शुक्रबार) कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । मधेश, गण्डकी र लुम्बिनी प्रदेशभर तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि यस्तै प्रकृतिको वर्षा हुने सम्भावना छ ।

कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा केही स्थानमा हल्का हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ ।

मौसमविद् हरिप्रसाद दाहालले हाल बाली काट्ने समय भएकाले मौसमको जानकारी लिएर मात्र कटनी कार्य अघि बढाउन सुझाव दिएका छन् ।

“देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना छ,” उनले भने, “अहिले मुसुरो, गहुँलगायतका बाली काट्ने समय भएकाले सतर्क रहन जरुरी छ ।” कृषकहरूलाई मौसम अपडेट लिँदै काम गर्न तथा सम्भावित जोखिमबाट जोगिन सावधानी अपनाउन अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !