स्याङ्जामा सुन जस्तो देखिने ७ तोला धातु सहित एक जना पक्राउ

स्याङ्जा। स्याङ्जा जिल्लाको राम्दीस्थित सिद्धार्थ राजमार्गमा सुन जस्तो देखिने धातु सहित एक जना पक्राउ परेका छन्। हिजाे बेलुकी करिब ६ः३० बजेको समयमा गल्याङ नगरपालिका वडा नम्बर १ राम्दीमा अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले चेकजाँचको क्रममा उक्त धातु फेला पारेको हो।
प्रहरीका अनुसार बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८८०९ नम्बरको इलेक्ट्रिक भ्यानलाई रोकी जाँच गर्दा चालक प्रदिप अर्यालले बिल नभएको अवस्थामा लुकाईछिपाई ल्याएको सुनजस्तो देखिने धातु फेला परेको हो। अर्याल स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नम्बर ६ निवासी ३६ वर्षीय हुन्।
चालकले लुकाएर ल्याएको धातुको परिमाण ७ तोला ९६९ लाल रहेको र त्यो सुन जस्तो देखिने भए तापनि त्यसको आधिकारिक कागजात नहुँदा प्रहरीको शंका गहिरिएको हो। यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी हरि प्रसाद पाैडेलले जानकारी दिए ।