२९ बैशाख २०८२, सोमबार

स्याङ्जाकाे मिर्मी क्याम्पस र व्यवसायिक घरमा चोरी, चार किशोर पक्राउ

प्रकाशित मिति :  17 April, 2025 10:50 am


काठमाडाैँ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ मिर्मीमा भएको चोरी तथा तोडफोड घटनामा संलग्न रहेका चार जना किशोरहरूलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार गत २ गते राति मिर्मी क्षेत्रका विभिन्न स्थानहरूमा भएका चोरी र तोडफोडका घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार मिर्मी बहुमुखी क्याम्पसको दोस्रो तलामा रहेको कम्प्युटर कक्ष र कार्यालयको ताल्चा फोरेर त्यहाँ रहेको डेल किबोर्ड, माउस, पावर केबल साथै दुई वटा टेलिफोनको तार र दुई वटा सिलिङ पंखामा क्षति पुर्याइएको थियो।

त्यसैगरी सोही क्षेत्रमा ज्ञान प्रसाद न्यौपानेले सञ्चालन गरेको स्केटिङ हाउसको ताल्चा फुटाएर स्केटिङ जुत्ता तीन जोर, रिओ जुस १५ वटा, रेडबुल १५ वटा, फ्रुटी १५ वटा र कोक तथा स्प्राइट गरी जम्मा २२ वटा बोतल समेत चोरी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरि प्रसाद पाैडेलले जानकारी दिए ।

तिनै समूहले नारायण प्रसाद अधिकारीको स्कुटर (ग। १ प। ८३९८) र मोटरसाइकल (लु। ४७ प। ३४३८) तोडफोड गरेको पाइएको छ भने प्रविन ढकालको अर्को मोटरसाइकल (ग। १४ प। ५९०) पनि घरदेखि करिब दुई किलोमिटर टाढा ‘आँधीमुहान’ भन्ने स्थानमा तोडफोड गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूमा कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ मिर्मीका १८ वर्षीय एक किशोरसहित, तीन जना १६ वर्षीय किशोर रहेका छन्। तीमध्ये एक जना धादिङ जिल्लाबाट आएको र हाल मिर्मीमै बसोबास गर्दै आएको बताइएको छ।

प्रहरीले चोरी भएका केही सामानहरू समेत बरामद गर्न सफल भएको छ। क्याम्पसबाट करिब २०० मिटर तल पश्चिम दिशातर्फ रहेको एक ओडारमा लुकाइ राखिएको अवस्थामा डेल किबोर्ड, कम्प्युटर पावर केबल, स्केटिङ जुत्ता तीन जोर र रिओ जुस ९ वटा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !