२० बैशाख २०८२, शनिबार

द्वन्द्वकालीन जघन्य अपराधलाई माफी दिन सकिँदैन- प्रधानमन्त्री ओली

प्रकाशित मिति :  17 April, 2025 1:59 pm



काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधहरू माफीयोग्य नरहेको स्पष्ट पारेका छन् ।

संक्रमणकालीन न्यायका विषयहरू अब निष्कर्षमा पुग्नुपर्ने उल्लेख गर्दै उनले पीडितलाई न्याय दिलाउने कार्यमा राज्य गम्भीर भएको बताए ।

नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौँ राष्ट्रिय महाधिवेशनको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोजबिन आयोग प्रभावकारी रूपमा अगाडि बढ्ने स्पष्ट पारे ।

“अब द्वन्द्वकालका अमानवीय घटनाहरू माफ गर्न सकिन्न,” उनले भने, “अधिनायकवाद परास्त भइसकेको छ। लोकतान्त्रिक प्रणालीमा हामी अगाडि बढिसकेका छौँ। अब हत्या, हिंसा, अराजकता र धार्मिक भड्काव कुनै पनि हालतमा स्वीकार्य हुने छैन ।”

प्रधानमन्त्री ओलीले मुलुक अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा अगाडि बढिरहेको उल्लेख गर्दै वर्तमान सरकार समृद्धि र विकासमा केन्द्रित रहेको बताए । उनले एमालेले बनाएको एकल सरकारको उपलब्धिले केही शक्तिहरूलाई त्रसित बनाएको र त्यसकै प्रतिक्रियामा सत्ताबाट हटाउने प्रयास भएको आरोप लगाए ।

“हामीसँग राष्ट्र निर्माण र एकताको गौरवशाली इतिहास छ,” प्रधानमन्त्री ओलीले भने, “यो सग्लो नेपाल हामी नयाँ पुस्तालाई हस्तान्तरण गर्छौं। हामी सीमाना खुम्चन दिँदैनौं, राष्ट्रिय स्वाभिमानमा आँच आउन दिँदैनौं ।”

उनले भूतपूर्व सैनिक तथा प्रहरी संगठनप्रति आह्वान गर्दै देश र पार्टीप्रतिको बफादारिता अझ सुदृढ गर्नुपर्ने उल्लेख गरे । विविधतायुक्त समाजमा सामाजिक सद्भावसहितको राष्ट्रिय एकता अत्यावश्यक भएको र यसमा एमाले अगुवाइ गरिरहेको उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीले आउँदो वैशाख ११ गते ‘लोकतन्त्र दिवस’को अवसरमा एमालेले युवासँग संवाद र उत्सव गर्ने कार्यक्रम राखेको जानकारी पनि दिए ।



प्रतिक्रिया दिनुहोस !