२० बैशाख २०८२, शनिबार

साहित्यकार ऋषवदेव घिमिरेद्वारा बैंककको ‘आदर्श’ पुस्तकालयलाई पुस्तक सहयोग

प्रकाशित मिति :  17 April, 2025 2:12 pm



काठमाडौँ । राष्ट्रिय साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष तथा वरिष्ठ साहित्यकार ऋषवदेव घिमिरेले थाई नेपाली ‘आदर्श’ पुस्तकालयलाई १ सय ७५ थान नेपाली साहित्यकृति सहयोग गरेका छन् ।

थाइल्यान्डमा रहेका नेपाली भाषाभाषीहरूको आग्रहअनुसार भाषा, साहित्य र संस्कृतिको विकास, प्रवर्द्धन र विस्तारका उद्देश्यसहित घिमिरेले उक्त पुस्तक सहयोग गरेका हुन् । बैंककस्थित ‘आदर्श’ पुस्तकालयका काठमाडौँ प्रतिनिधिलाई उनले ती पुस्तकहरू हस्तान्तरण गरेका हुन् ।

थाई नेपाली संघ बैंकक शाखाको संरक्षण र शिक्षा विभागको पहलमा स्थापना गरिएको पुस्तकालयले घिमिरेको योगदानप्रति कृतज्ञता व्यक्त गरेको छ।

“म्यान्मा र थाइल्यान्डका साहित्यप्रेमीहरूको तर्फबाट वरिष्ठ साहित्यकार ऋषवदेव घिमिरेलाई पुस्तकका लागि अनुरोध गरिएको थियो । उनले सहज रूपमा स्वीकार गरेर हामीलाई प्रेरणा दिए,” थाई नेपाली संघ शिक्षा विभागका प्रमुख ओमप्रकाश न्यौपानेले बताए ।

साहित्यकार घिमिरे ‘मनमनमा म्यान्मा’, ‘रमादेवीको कथा’ लगायतका कृतिहरूबाट थाइल्यान्ड र म्यान्मामा विशेष चर्चित छन् । म्यान्मा र थाई नेपाली समुदायसँग भावनात्मक र साहित्यिक सम्बन्ध गाँसेका घिमिरेले पटकपटक बर्मेली नेपालीहरूका गाउँ–बस्ती र परिवारमा पुगेर नेपाली साहित्यलाई अन्तरपुस्तीय सम्बन्धको विषय बनाउँदै आएका छन् ।

ललितपुर, गोदावरी निवासी घिमिरेका दर्जनौँ कृति प्रकाशित छन्, तीमध्ये केही म्यान्माली नेपाली जनजीवनसँग प्रत्यक्ष सम्बन्धित छन्। उनी नेपाल नागरिक समाज, भानु प्रतिष्ठान, राष्ट्रिका साहित्य प्रतिष्ठानलगायत एक दर्जनभन्दा बढी सामाजिक–साहित्यिक संस्थामा सक्रिय छन्।



प्रतिक्रिया दिनुहोस !