३१ बैशाख २०८२, बुधबार

वरिष्ठ साहित्यकार घिमिरेद्वारा बैंककस्थित थाई नेपाली ‘आदर्श’ पुस्तकालयलाई पुस्तक सहयोग

प्रकाशित मिति :  17 April, 2025 3:48 pm


काठमाडाैँ । राष्ट्रिका साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष तथा वरिष्ठ साहित्यकार ऋषवदेव घिमिरेले थाईल्यान्डको राजधानी बैंककमा स्थापना गरिएको थाई नेपाली ‘आदर्श’ पुस्तकालयलाई १७५ थान नेपाली साहित्यका पुस्तक सहयोग गरेका छन्।

थाइल्यान्डमा रहेका नेपाली भाषी समुदायको विशेष आग्रहलाई मनन गर्दै भाषा, साहित्य र संस्कृतिको विकास, विस्तार, प्रवर्धन र सुधारका लागि पुस्तक पठाइएको हो। कवि घिमिरेले उक्त पुस्तकालयका काठमाडौँस्थित प्रतिनिधिमार्फत पुस्तक हस्तान्तरण गरेका हुन्।

म्यान्मा र थाईल्यान्डका साहित्यप्रेमी माझ परिचित नाम भएकाले पनि कवि घिमिरेको योगदानलाई यहाँको नेपाली समुदायले निकै उच्च सम्मानका साथ लिएको छ। ‘मनमनमा म्यान्मा’जस्ता कृत्तिहरूले उनले म्यान्माली नेपालीको जनजीवनलाई साहित्यमा उतारेका छन् भने ‘रमादेवीको कथा’ जस्ता कविताले विशेषगरी बर्मेली नेपाली युवाको मन जितेको छ।

गोदावरी, ललितपुर निवासी घिमिरेका कैयौँ कृत्ति प्रकाशित छन् जसमा केही म्यान्मा र थाइल्यान्डका नेपाली समुदायसँग प्रत्यक्ष सरोकार राख्ने विषयवस्तुमा आधारित छन्। उनी पटक–पटक म्यान्मामा रहेका नेपालीहरूका घरघरमा पुगेर त्यहाँको जीवन, पीडा र आशालाई साहित्यमा अभिव्यक्त गर्ने काम गर्दै आएका छन्। यही निरन्तरताको भागस्वरूप उनले यो पटक थाई नेपाली ‘आदर्श’ पुस्तकालयलाई पुस्तक सहयोग गरेका हुन्।

पुस्तकालयका पदाधिकारीहरूले साहित्यकार घिमिरेलाई पुस्तक सहयोगका लागि विशेष धन्यवाद दिँदै यस्तो सहयोगले थाइल्यान्डमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।



प्रतिक्रिया दिनुहोस !