राजनीतिक स्थिरताका लागि संविधान संशोधन अपरिहार्य–अध्यक्ष प्रचण्ड

भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले राजनीतिक स्थिरता कायम गर्न संविधान संशोधन अपरिहार्य रहेको बताएका छन् ।
बुधबार साँझ जागरण अभियानअन्तर्गत रुपन्देही आइपुगेका अध्यक्ष दाहालले बिहीबार भैरहवामा प्रेस सेन्टर नेपाल, रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो धारणा राखेका हुन् ।
उनले नेकपा (एमाले) र नेपाली कांग्रेसले अघिल्ला सरकार गठनका बेला संविधान संशोधनको विषय उठाए पनि अहिले त्यो विषयप्रति गम्भीरता नदेखाएकोप्रति चिन्ता व्यक्त गरे ।
“स्थिरताका लागि संविधान संशोधन जरुरी छ”, अध्यक्ष दाहालले भने, “१० वर्षमा एकपटक संविधानको समीक्षा गरेर आवश्यक संशोधन गरिनुपर्छ । यसले जनताको अधिकार कुण्ठित गर्ने होइन, थप अधिकार सुनिश्चित गर्ने लक्ष्य राखेको हो ।” उनले संविधान संशोधनप्रति आफ्नो पार्टीको प्रतिबद्धता स्पष्ट पारे।
सरकार परिवर्तन गर्ने कुनै उद्देश्य नरहेको भन्दै अध्यक्ष दाहालले आफ्नो पार्टीको जागरण अभियान जनताको अधिकार सुदृढ गर्न, उनीहरूको समस्या बुझ्न र समाधानको बाटो पहिल्याउन केन्द्रित रहेको बताए ।
उनका अनुसार झापाबाट सुरु भएको तराई–मधेस जागरण अभियानमार्फत विभिन्न स्थानका किसान, सहिद परिवार तथा बेपत्ता परिवारका पीडा बुझ्न अवसर मिलेको छ ।
अध्यक्ष दाहालले अभियानले राष्ट्रिय एकता मजबुत पार्न सहयोग पु¥याउने विश्वास व्यक्त गरे । राजसंस्थाको पुनःस्थापनाको माग गर्दै भइरहेका आन्दोलनहरूलाई उनले अराजक समूहको गतिविधि भन्दै आलोचना गरे । गणतन्त्र र यसले ल्याएका उपलब्धिहरूलाई जोगाउन जनताको घरदैलोमा पुग्न आवश्यक रहेको उनको भनाइ थियो ।