मकवानपुरगढीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी । मकवानपुर जिल्लामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । आज राति १ः०० बजे मकवानपुरगढी गाउँपालिका-२, धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको यात्रुबाहक गाडी दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटना हुँदा गाडी सडकबाट करिब २०० मिटर तल खस्दा दुई जनाको मृत्यु र १४ जनाका घाइते हुने घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार, दुर्घटनामा परेका गाडीको नम्बर बा प्र ०१–००६ ख ७०७२ रहेको छ ।
गाडीमा चालकसहित १६ जना सवार थिए। दुर्घटनाको जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी रौतहटकी ५० वर्षिया नीलमदेवी राउतको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । अर्को मृतक सर्लाहीकी १३ वर्षीया मानुसी मगरको शव घटनास्थल नजिकैको खोल्सामा फेला परेको प्रहरीले जनाएको छ।
घाइते १० जनालाई हेटौँडा अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेलाई मकवानपुर सहकारी अस्पतालमा उपचारका लागि पठाइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।