२७ बैशाख २०८२, शनिबार

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक : प्रदेश इञ्चार्ज ताेकियाे

प्रकाशित मिति :  18 April, 2025 7:56 am


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकले महत्त्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले आगामी बैशाखमा आयोजना गर्ने भनिएको महाधिवेशनलाई आगामी फागुन महिनामा सार्ने निर्णय गरेको छ ।

कार्यवाहक प्रवक्ता मनिष झाले पत्रकार सम्मेलनमा जानकारी दिँदै भने, “महाधिवेशनको तयारी समयमै पूरा नहुनुका कारण यसलाई फागुनको ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरिएको हो।” यसका साथै, पार्टीका तल्लो संरचनाका कामहरू नसकिएपछि महाधिवेशनको मिति परिवर्तन गर्नु परेको स्पष्ट पारेका छन् ।

बैठकले प्रदेश स्तरमा जिम्मेवारी तोक्ने निर्णय पनि गरेको छ। ७ वटै प्रदेशका इन्चार्जहरू तोकिएका छन्, जसमा कोशी प्रदेशको इन्चार्ज सन्तोष परियार, मधेश प्रदेशका इन्चार्ज मनिष झा, बागमती प्रदेशकी इन्चार्ज लिमा अधिकारी, गण्डकी प्रदेशका इन्चार्ज शिशिर खनाल, लुम्बिनी प्रदेशका इन्चार्ज विपिन आचार्य, कर्णाली प्रदेशका इन्चार्ज गणेश पराजुली र सुदूरपश्चिम प्रदेशका इन्चार्ज हरि ढकाल तोकिएका छन् । यससँगै, पार्टीले पहिलो पटक केन्द्रीय नेतालाई प्रदेश इन्चार्ज तोक्ने निर्णय गरेको हो ।

बैठकले शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउने निर्णय पनि गरेको छ । शिक्षकहरूको माग पुरा गर्न सरकारलाई दबाब दिने र संसदीय दललाई सक्रिय बनाउन निर्देशन दिने निर्णय गरिएको छ । यसका अलावा, पार्टीका उपसभापति डा. स्वनिम वाग्लेले तयार गरिरहेको सरकार सञ्चालनको अवधारणालाई आगामी असार ७० गते हुने नीति सम्मेलनमा सार्वजनिक गर्ने निर्णय गरिएको छ ।

पार्टीका उपमहासचिव सुमना श्रेष्ठको राजीनामा पनि केन्द्रीय समितिमा प्राप्त भएको जानकारी दिइएको छ। अन्तिम निर्णयमा, पार्टीको नाममा सामाजिक संजालमा भइरहेको गलत गतिविधि प्रति ध्यानाकर्षण गर्दै, सदस्यहरूलाई सामाजिक संजालसम्बन्धी आचार संहिता पालन गर्न अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !