कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार, अनुसन्धान तीव्र

दाङ । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गए राति अज्ञात समूहले गोली प्रहार गरेका छन् ।
शौचालयबाट फर्किने क्रममा आफूलाई लक्षित गरी गोली प्रहार भएको अध्यक्ष चौधरीले जानकारी दिए । राति करिब साढे ११ बजे गोली प्रहार भएको उनले जानकारी दिए ।
पर्खाल बाहिरबाट गोली हानियो, भर्याङमुनि लुकेर बाँचेँः अध्यक्ष चौधरी
अध्यक्ष चौधरीले आफू लक्षित आक्रमण भएको बताएका छन् । उनले शौचालय गएर फर्किरहेको समयमा पर्खाल बाहिरबाट गोली प्रहार भएको भन्दै उनले आफू भर्याङमुनि लुकेर बाँचेको जानकारी दिए ।
“म शौचालय गएर फर्किदै थिएँ । एक्कासी गोलीको आवाज सुनेँ । पर्खाल बाहिर नचिनेका मान्छे देखेँ अनि तत्काल झुकेर भागेँ र भर्याङमुनी लुकेँ”, लुम्बिनी सञ्चारसँगको कुराकानीमा उनले भने, “त्यति बेलासम्म भित्र आईपीएल हेर्दै गरेका छोराहरू बाहिर निस्किए । हल्ला सुरू भएपछि थप आक्रमण हुन पाएन। उनीहरू भागे ।”
घटना लगत्तै प्रहरीलाई खबर गरेको भन्दै उनले प्रहरी समयमै आई पुगेकाले थप दुर्घटना हुन नपाएको बताए ।
घटनास्थलमा गोलीको खोका फेलाः प्रहरी
जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले घटनाको पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएस्पी मोहनमणि अधिकारीले घटनाको पुष्टि गर्दै घटना स्थलबाट गोलीको खोका फेला परेको जानकारी दिए । उनले सानो हतियार प्रयोग भएको बताए ।
“अध्यक्षमाथि गोली प्रहार भएको खबर पाएलगत्तै प्रहरी घटना स्थल पुगेको थियो । गोली अध्यक्षको घरको भित्तामा लागेको छ । घटनास्थलबाट सानो हतियारमा प्रयोग हुने एकथान गोलीको खोका बरामद गरिएको छ”, प्रवक्ता अधिकारीले भने ।
प्रवक्ता अधिकारले थपे, “हामीले घटनाको अनुसन्धान तीव्र बनाएका छौँ । आक्रमणकारी समूहको पहिचान र पक्राउका लागि प्रहरी टोली परिचालित गरिएको छ ।” उनका अनुसार घटनाको २० मिनेटभित्रै प्रहरी घटनास्थलमा पुगेको थियो ।