दाङकाे देउखुरीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङ । दाङको राप्ती गाउँपालिका–५ लठह्वामा आज बिहान भएको एक बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने १० जनाभन्दा बढी यात्रु घाइते भएका छन्।
कृष्णनगरबाट लमहीतर्फ जाँदै गरेको बा ३ ख ७९९६ नम्बरको यात्रुबाहक बस तीव्र गतिमा अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा राजपुर गाउँपालिका–५ का ५६ वर्षिय निलसरोज यादवको घटनास्थलमै मृत्यु भएको हो । एकजना अन्दाजी ४० वर्षकी नाम नखुलेकी महिलाको भने उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
दुर्घटनामा घाइते भएका यात्रुमध्ये केहीको सिसहनियाँमा र केहीको लमहीस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। केही यात्रुको अवस्था गम्भीर रहेको र थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाको कारण तीव्र गति र चालकको लापरवाही हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।