यू–१९ विश्वकप छनोटको निर्णायक भिडन्त : आज नेपाल र अफगानिस्तान आमनेसामने

काठमाडौँ । आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत सबैभन्दा महत्वपूर्ण खेल आज मुलपानी क्रिकेट मैदानमा हुँदैछ। नेपाल र अफगानिस्तानबीचको यो अन्तिम खेल नै २०२५ मा जिम्बाब्वेमा आयोजना हुने यू–१९ विश्वकपका लागि छनोट तय गर्ने निर्णायक क्षण बन्नेछ । खेल बिहान ९:३० बजे सुरु हुनेछ।
यसअघिका तीनवटा खेलमा दुवै टोली अपराजित रहँदै समान ६ अंक जोडेका छन्। युएई, हङकङ र ओमानलाई हराउँदै शीर्षस्थानका लागि प्रतिस्पर्धा गरिरहेका यी दुई टोलीमध्ये आजको विजेता विश्वकपको टिकट पक्का गर्नेछ। तर रनरेटको आधारमा अफगानिस्तान नेपालभन्दा अगाडि रहेकाले वर्षाले खेल अवरुद्ध भए नेपाल प्रतियोगिताबाट बाहिरिन सक्नेछ। त्यसैले नेपालका लागि जित नै अन्तिम विकल्प हो।
अभ्यास सिरिजले बढायो आत्मविश्वास
नेपाल र अफगानिस्तानबीच एसिया छनोटअघि तीन खेलको अभ्यास एकदिवसीय सिरिज भएको थियो, जसमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै अन्तिम खेल जितेको थियो। नेपाली टोलीका कप्तान नरेन भट्ट भन्छन्, “अभ्यास खेलमार्फत अफगानिस्तानको खेलशैली बुझ्न मद्दत मिल्यो। हामी तयार छौं।”
नेपालका प्रशिक्षक शक्ति गौचन पनि आशावादी छन्। “अफगानिस्तान टेस्ट टोली भए पनि हामी डराउँदैनौं। अभ्यासमा देखाएको प्रतिस्पर्धाले अन्तिम खेलमा आत्मविश्वास थपेको छ,” उनले भने ।
नरेन र साहिलको ब्याटिङमा चमक
नेपालका कप्तान नरेन भट्टले हालसम्म ३ खेलमा ११८ रन बनाएका छन्। युएईविरुद्ध अर्धशतक र हङकङविरुद्धको प्रभावशाली प्रदर्शनले उनी प्रतियोगिताको दोस्रो सर्वाधिक रन बनाउने ब्याटर बनेका छन्। ओपनर साहिल पटेल पनि समान ११८ रनसहित उत्कृष्ट लयमा छन्। दुवै ब्याटर अहिले अस्ट्रेलियाका खादिल अहमदजाईपछि रनको तालिकामा दोस्रो स्थानमा छन्।
खत्री नेपालको बलिङ हतियार
लेगस्पिनर युवराज खत्री अहिले प्रतियोगितामा सर्वाधिक विकेट लिने बलर हुन्। उनले पछिल्ला दुई खेलमा ९ विकेट लिइसकेका छन् ।
युएईविरुद्ध वर्षाले खेल प्रभावित हुँदा उनी विकेटविहीन रहे पनि बाँकी खेलमा उनी अजेय रहे। कप्तान भट्ट र प्रशिक्षक गौचन दुवैले खत्रीलाई “टोलीको ट्रम्प कार्ड” भनेका छन् । सन्तोष यादवले पनि ६ विकेटसहित बलिङमा योगदान दिएका छन्। उनी विकेट लिने बलरको दोस्रो स्थानमा छन्।
अफगानिस्तानका स्टारहरू
अफगानिस्तानका लागि खादिल अहमदजाई अहिलेका सबैभन्दा सफल ब्याटर हुन्। उनले ३ खेलमा २०२ रन बनाइसकेका छन्। बलिङमा हफिजुल्लाह र नुरिस्तानी ओमर्जी समान ५–५ विकेटसहित बलरहरूको तेस्रो स्थानमा छन्।