आज पनि देशभर बदली, मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा स्थानीय वायु र पश्चिमी वायु प्रणालीको प्रभाव सक्रिय रहेका कारण विभिन्न प्रदेशहरूमा मौसम बदली भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य भू–भागमा आंशिक बदली देखिएको छ।
कोशी र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिनभर देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी प्रदेशसहित पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।
यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा एक/दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
रातिको समयमा पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा बदली रहने र थोरै स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्नेछ। मौसममा भइरहेको अस्थिरताका कारण कृषि, जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।