३ जेष्ठ २०८२, शनिबार

विप्लवको कृषि क्रान्ति : अकबरे खुर्सानी खेतीदेखि आत्मनिर्भर राष्ट्रको सपनासम्म

विप्लव अर्घाखाँचीको शीतगंगा नगरपालिका–११, मान्द्रेमा अकबरे खुर्सानी खेतीमा व्यस्त छन्
प्रकाशित मिति :  19 April, 2025 9:20 am


टीकाबहादुर बस्नेत,
दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ अहिले अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिका–११, मान्द्रेमा अकबरे खुर्सानी खेतीमा व्यस्त छन् । पार्टीको उत्पादन अभियानअन्तर्गत उनले आफ्ना निजी सचिव अडिग बोगटीसहित १५ सदस्यीय टोलीको सहभागितामा कृषि जनकम्युनमा सामूहिकरूपमा खुर्सानी रोपेका छन् ।

मान्द्रेको कृषि जनकम्युन सामूहिक खेतीको प्रयोगशालाका रूपमा विकसित हुँदै गएको छ । यहाँ कृषकहरू व्यावसायिक दृष्टिकोणबाट उत्पादन गर्दै छन् र सहकार्यको माध्यमबाट नयाँ सम्भावनाहरू अन्वेषण गरिरहेका छन् । यस समुदायमा कृषकहरू सहकार्य र सामूहिक क्रियाकलापमा आधारित कार्य गर्दै कृषि उत्पादन बढाइरहेका छन् ।

यहाँ महासचिव विप्लव र उनका नेताहरूको सक्रिय सहभागिता र नेतृत्वले स्थानीय स्तरमा नयाँ कामको परिभाषा प्रस्तुत गरेको छ । विप्लवको व्यक्तिगत संलग्नताले कार्यप्रतिको समर्पण र प्रतिबद्धता प्रकट गरेको छ र यसले शेष कार्यकर्ताहरूलाई प्रेरित गरेको छ । अभियानको प्रमुख उद्देश्य भनेको केवल उत्पादनमा ध्यान दिनु मात्र होइन, कृषि क्षेत्रलाई क्रान्तिकारी बनाउनु रहेको महासचिव विप्लवको भनाइ छ ।

पार्टीले उत्पादनलाई मात्र प्राथमिकता दिएको नभई यसको माध्यमबाट आत्मनिर्भर राष्ट्रको निर्माणको सपना पनि पूरा गर्ने लक्ष्य राखेको महासचिव विप्लव बताउँछन् ।

“कृषिको माध्यमबाट आत्मनिर्भर राष्ट्रको परिकल्पना गरेका छौं । देशव्यापी थालेको अभियानले सफलता हासिल गर्दै गएको छ”, महासचिव विप्लवले भने, “अभियानले नागरिकहरूलाई उत्पादनमा सक्रिय भाग लिनका लागि प्रेरित गरेको छ । नेपालको कृषिमा रहेका असंख्य अवसरहरूको उपयोग गर्न र आफ्नो देशलाई आत्मनिर्भर बनाउनका लागि यस प्रकारका कार्यक्रम अत्यन्त महत्वपूर्ण मानिन्छ ।”

उनी सामुहिक कृषि अभियानको माध्यमबाट देशभरका नागरिकलाई जागरूक गराउन र स्थानीय उत्पादनको प्रवद्र्धन गर्न चाहेको बताउँछन् ।

देशव्यापी उत्पादन अभियान
विप्लव नेतृत्वमा पार्टीले देशभर उत्पादन केन्द्रित अभियानलाई तीव्र बनाएको छ । अर्घाखाँचीको अकबरे खुर्सानी खेती अभियानकै निरन्तरता भएको विप्लव बताउँछन् ।

पार्टीको उत्पादन अभियान केवल कृषि क्षेत्रमा मात्रै सीमित नभई यसले साना उद्योगहरूको प्रर्वद्धन र युवाहरूसम्म जागरूकता पुर्याउने काम गरिरहेको उनको दावी छ ।

पार्टीले आफ्नो नीति अनुसार देशभरका विभिन्न स्थानहरूमा सामूहिक खेती र साना उद्योगको स्थापना गरेको उनी बताउँछन् । अर्घाखाँचीका साथै कपिलवस्तु, दाङ, चितवन, जुम्ला, इलाम, ताप्लेजुङ, सल्यानलगायत देशका विभिन्न स्थानहरूमा उत्पादन गतिविधि तीव्र रूपमा अगाडि बढिरहेको महासचिव विप्लव बताउँछन् । उनका अनुसार अभियानले कृषि उत्पादनको मात्राबृद्धि मात्र होइन, सामूहिक समर्पण र श्रमको महत्वलाई पनि देखाउँछ ।

पार्टीले आत्मनिर्भरता हासिल गर्ने उद्देश्यका साथ देशभर ८० स्थानमा सामूहिक खेती र साना उद्योग सञ्चालन गरिरहेको महासचिव विप्लवले जानकारी दिए । “हाल करिब ३०० बिघा क्षेत्रफलमा खाद्यान्न, तरकारी, फलफूल, पशुपालन, माछापालन र मौरीपालन गर्दै उत्पादन कार्य तीव्र बनाइएको छ”, उनले भने ।

उनका अनुसार कृषिमा पनि नयाँ नयाँ प्रयोग गर्दै, पार्टीले स्थानीय समुदायलाई प्रेरित गर्दै र तालिम दिएर उत्पादनका नयाँ उपायहरू अपनाएका छन् । यसका साथै, काठमाडौंमा दुईवटा गार्मेन्ट उद्योग, कपिलवस्तुमा सफाइ सामग्री उद्योग, नुवाकोटमा पानी उद्योग र झुम्कामा चिप्स उद्योग सञ्चालनमा छन् । यसले व्यापारिक दृष्टिकोणले मात्र होइन, सामुदायिक दृष्टिकोणले पनि सकारात्मक प्रभाव पार्नेछ ।

विप्वलको सहभागिता : प्रेरणा र सन्देश
विप्लवको सक्रिय संलग्नता र नेतृत्वले देशको समृद्धि र विकासका लागि सबैलाई हातेमालो गर्दै उत्पादनका क्षेत्रहरूमा लगानी गर्न आवश्यक छ भन्ने सन्देश दिएको छ । विप्लवले भनेका छन्, “देश बनाउने हो भने उत्पादनमा लाग्नैपर्छ । आत्मनिर्भरता बिना समृद्धि सम्भव छैन ।” यसका साथ, उनले नेपालको आत्मनिर्भरता हासिल गर्ने मार्गमा कृषिमा क्रान्तिकारी कदम चाल्न आवश्यक रहेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) द्वारा सुरु गरिएको सामूहिक खेतीको अभियान नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा पनि दुर्लभ अभ्यासका रूपमा उभिएको छ ।

राजनीतिक दल आफैंले खेतीमा संलग्न हुनु, जस्तो कि पार्टी महासचिव विप्लवले खेतमा पसिना बगाउने कार्य, एउटा अनुपम उदाहरण हो । राजनीतिक दलहरूले कृषि क्षेत्रमा लगानी गर्नु र कृषि क्रान्तिको लागि एकजुट हुनु अहिलेको परिप्रेक्ष्यमा निकै चुनौतीपूर्ण र दुर्लभ कदम हो ।

कृषिसँगै अन्य उद्योगहरूको विकास र व्यापारिक गतिविधि पनि पार्टीको लक्ष रहेको महासचिव विप्लव बताउँछन् । उनका अनुसार उत्पादित वस्तुहरूको बिक्रीका लागि काठमाडौँ र अन्य प्रमुख सहरहरूमा मार्ट खोल्ने तयारी भइरहेको छ । पार्टीले श्रमद्वारा आत्मनिर्भर बन्ने नीति अवलम्बन गर्दै नेता–कार्यकर्तालाई चन्दा होइन, उत्पादनको बाटो समात्न प्रेरित गरिरहेको छ ।

विप्लव नेतृत्वको यो अभियानले युवालाई गाउँमै सम्भावना देखाउने सन्देश दिएको छ । यसले युवाहरूलाई विभिन्न गाउँ र नगरपालिकामा आफ्ना क्षमता र संसाधनहरूको सदुपयोग गर्न प्रोत्साहित गरेको छ । यसबाट ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने र युवाहरूलाई शहरको मोहबाट विमुक्त गराउने ठूलो अवसर सिर्जना हुनेछ ।

अभियानले शहरी क्षेत्रमा मात्र होइन, ग्रामीण क्षेत्रमा पनि स्थायी रोजगारी सिर्जना गर्ने सम्भावना देखा गरेको छ । विप्लवको यो कदम राष्ट्रका लागि मात्र होइन, अन्तर्राष्ट्रिय समुदायमा पनि एक आदर्शको रूपमा प्रस्तुत हुन सक्छ ।

विप्लवको नेतृत्वमा यो सामूहिक खेती अभियानले नेपालमा राजनीतिक दलहरूको नयाँ दृष्टिकोण र कार्यशैली प्रस्तुत गरेको छ । यसले किसान र नागरिकलाई सशक्त बनाउन र समृद्धिको मार्गमा एक कदम अगाडि बढाउन प्रेरित गरेको छ । अब नेपालमा आत्मनिर्भरता र कृषि क्रान्ति को नयाँ युगको शुरुआत देखिन्छ, जसले सम्पूर्ण समाजलाई सकारात्मक परिवर्तन ल्याउनेछ ।



प्रतिक्रिया दिनुहोस !