२१ बैशाख २०८२, आइतबार

बुटवलमा युवतीमाथि गोली प्रहार : भारतीय युवकमाथि आशंका

प्रकाशित मिति :  19 April, 2025 11:06 am


बुटवल । बुटवलमा एक युवतीमाथि अपरिचित व्यक्तिबाट गोली प्रहार भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल उपमहानगरपालिका–११, बुद्धनगरमा बस्ने टिका बिष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो ।

रैनादेवी छहरा गाउँपालिका घर भई हाल बुद्धनगरमा बसोबास गर्दै आएकी बिष्टको कम्मरमाथि गोली लागेको बताइएको छ । उनलाई तत्कालै उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार उनको अवस्था गम्भीर छैन तर थप परीक्षण र उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाका अनुसार घटनाको अनुसन्धान अघि बढाइएको छ।

“केही दिनअघि ती युवतीको एकजना भारतीय युवकसँग विवाद भएको थियो भन्ने सूचना प्राप्त भएको छ”, डीएसपी रानाले भने, “त्यही विवादकै कारण सो युवकले गोली हानेको हुनसक्ने स्थानीयको आशंका छ ।”

प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको छ भने सम्भावित आरोपितको खोजी भइरहेको जानकारी दिएको छ। यस घटनाले बुद्धनगर क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ । प्रहरीले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र अनुसन्धानपछि थप खुलासा हुने जनाएको छ।



प्रतिक्रिया दिनुहोस !