२२ बैशाख २०८२, सोमबार

समाजवादको भ्रूण नेवार समुदायमै रहेको छ-अध्यक्ष दाहाल

प्रकाशित मिति :  19 April, 2025 4:53 pm


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली समाजवादको विशेषता नेवार समुदायको इतिहास, भाषा, संस्कृति र उत्पादन प्रणालीमा निहित रहेको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक विशेष सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समाजवादको प्रारम्भिक रूप (भ्रूण) नेवार समुदायको गहिरो इतिहास र जीवनशैलीमा रहेको उल्लेख गरे ।

उाले भने, “समाजवादको भ्रूण नेवार समुदायको इतिहासमा, उनीहरूको भाषा, संस्कृतिमा, उनीहरूको उत्पादन सम्बन्धमा, गुठी लगायतका संस्थागत संरचनाहरूमा छ । त्यहीँबाट नेपाली विशेषताको समाजवाद सुरु हुन्छ ।”

दाहालले नेपालका आदिवासी जनजातिहरूमध्ये नेवार समुदायलाई अग्रणी बताउँदै, समाजवादको नयाँ यात्राको सुरुवात उनीहरूको इतिहास, संस्कृति र भाषाको गहिरो अध्ययनबाट मात्र सम्भव हुने बताए ।

“नेवार समुदायको इतिहासको अध्ययनबाट मात्रै हामीले नेपाली विशेषताको समाजवादको यात्रा आरम्भ गर्न सकिन्छ,” उनले जोड दिए ।

कार्यक्रममा अध्यक्ष दाहालले वर्तमान सरकारका गलत काम र निर्णयका कारण उत्पन्न अस्थिरतिलाई औँल्याउँदै, यस्तो अवस्थामा ‘धमिलो पानीमा माछा मार्ने’ प्रयासहरू भइरहे पनि ती सफल नहुने विश्वास व्यक्त गरे ।

उनले सम्मेलनले सरकारका प्रतिगामी गतिविधिहरूको विरोधमा खबरदारीको भूमिका खेल्नुपर्ने बताए । दाहालले नेवार समुदायप्रति माओवादी आन्दोलनको प्रतिबद्धता दोहोर्‍याउँदै भने, “नेवार समुदायको संस्कृति, भाषा, इतिहास, आत्मनिर्णय र पहिचान पूरा स्थापित नभएसम्म माओवादी केन्द्रले उनीहरूको साथ छाड्दैन ।”

कार्यक्रममा उनले यथास्थितिवाद र प्रतिगामी षड्यन्त्रका विरुद्ध पुनः उत्पीडित वर्ग, जाति र समुदायहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै, त्यसको नेतृत्व माओवादीले पुनः एकपटक गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उक्त सम्मेलनलाई नयाँ राजनीतिक पहलकदमीको रूपमा लिएको स्पष्ट पार्दै दाहालले यसलाई नेपाली समाजवादतर्फको विशेष यात्रा सुरु गर्ने ऐतिहासिक थालनीका रूपमा मूल्यांकन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !