राप्ती गाउँपालिकामा ३ हजार ९ सय ४० बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

तुलबहादुर कवँर मगर,
देउखुरी । राप्ती गाउँपालिकामा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु गरिएको छ ।
दुईदिने अभियानअन्तर्गत शनिबार र आइतबार गरी ३ हजार ९ सय ४० जना बालबालिकालाई औषधि खुवाउने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ।
अभियानको उद्घाटन शनिबार वडा नम्बर ६ मझेरियाबाट गरिएको हो । उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाएर अभियानको औपचारिक सुरुवात गरे ।
उनले बालबालिकालाई नियमित खोप तथा पोषण कार्यक्रममा सहभागी गराएर असल संस्कारसहित हुर्काउन सकिएमा उनीहरू भविष्यमा स्वस्थ, निरोगी र जिम्मेवार नागरिक बन्ने बताए ।
स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गालक्ष्मी श्रेष्ठले भिटामिन ‘ए’ को कमीले दृष्टि कमजोर हुनुका साथै आँखामा घाउ र रतन्धोपनजस्ता समस्या उत्पन्न गर्ने बताउँदै, कार्बोहाइड्रेट, फ्याट र प्रोटिन पर्याप्त भए पनि सूक्ष्म पोषण तत्वको अभावले समस्या देखिने उल्लेख गरे ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले समुदायमा नसर्ने रोगहरू बढ्दै गएका कारण यस्ता रोगको रोकथामका लागि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे । “रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै नलाग्ने गरी पूर्वतयारी गर्नुपर्छ,” उनले भने ।
कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका रोशनलाल चौधरी, स्वास्थ्य मन्त्रालयका नोद नारायण चौधरी, ईश्वरी केसी, रोशन थापा, वडा नम्बर ६ की कार्यवाहक अध्यक्ष गीता चौधरी, स्वास्थ्य शाखा प्रमुख नारायण राउतलगायत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीयवासीहरूको उपस्थिति थियो ।
स्वास्थ्य शाखा प्रमुख राउतका अनुसार ६ महिनादेखि १ वर्ष उमेर समूहका ९ सय ४६ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्ष उमेर समूहका ३ हजार ९ सय ४० बालबालिकालाई जुकाको औषधि खुवाइनेछ। साथै बालबिटा खुवाउने र कुपोषण परीक्षणसमेत गरिने कार्यक्रम रहेको छ।
अभियान सफल बनाउन ६४ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालित गरिएको छ। शनिबार बुथ केन्द्रमा औषधि खुवाइँदैछ भने आइतबार छुटेकाहरूलाई घरमै पुगेर औषधि दिने व्यवस्था मिलाइएको छ। कार्यक्रमको अनुगमन स्थानीय स्वास्थ्य संस्था र स्वास्थ्य शाखाले गर्नेछन्।
सरकारले भिटामिन ‘ए’ को कमी रोकथामका लागि वि.सं. २०५० मा आठ जिल्लाबाट कार्यक्रम सुरु गरेको हो। २०५९ देखि देशभर लागू गरिएको यो अभियानसँगै जुका नियन्त्रण कार्यक्रम २०५६ मा सुरु भई २०६७ सालदेखि सबै जिल्लामा विस्तार भएको छ। बालबिटा खुवाउने कार्यक्रम भने २०६४ सालदेखि सञ्चालनमा ल्याइएको हो।
सरकारले हरेक वर्ष वैशाख र कार्तिक महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क वितरण गर्दै आएको छ। सरकारी तथ्याङ्क अनुसार भिटामिन ‘ए’ को कमीका कारण नेपालमा दैनिक रूपमा कम्तीमा एक जना बालबालिका अन्धोपनको शिकार हुने गरेका छन् ।