रास्वपाको विचारविहीनता : नेतृत्व संकट र राजावादी विचलन
रास्वपा वैकल्पिक शक्ति नभई गणतन्त्रभित्र राजावादी सोचको प्रवेशद्वार बन्ने खतरा

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालमा वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको साढे दुई वर्ष नाघ्नै लाग्यो । २०७९ को आम निर्वाचनमा संसदको चौथो शक्ति बनेर चर्चामा आएको यो पार्टी सुरुवाती उत्साहपछि अहिले गम्भीर वैचारिक द्विविधा, आन्तरिक अनुशासन संकट र व्यक्तिकेन्द्रित प्रवृत्तिको दलदलमा फसेको स्वयम् उसका गतिविधिले प्रमाणित गरेका छन् ।
रास्वपाको औपचारिक प्रस्तावनामा पार्टीलाई “सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक दल” भनेर चित्रित गरिएको छ । दस्तावेजमा पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, जवाफदेही शासन, समन्यायिक समावेशी समाज, स्वतन्त्रता र सार्वभौमिकताको रक्षा, लोककल्याणकारी राज्य आदि आदर्शहरूका गुञ्जन छ । तर व्यवहारमा, पार्टी नेतृत्व, विचार, नीति र कार्यशैलीबीच यति गहिरो खाडल देखिन्छ कि यो पार्टी अब दस्तावेजले भनेको संस्थागत दल नभएर व्यक्तिगत प्रतिष्ठाको रक्षा गर्ने ‘राजनीतिक कम्पनी’ जस्तो देखिन थालेको छ ।
रवि लामिछाने-एकै साथ नेता, विचार, प्रवक्ता र फैसला
रास्वपाको निर्माण रवि लामिछानेको टेलिभिजन लोकप्रियतामा आधारित थियो । त्यो लोकप्रियता चुनावी लहरमा परिणत भयो र जनताको विद्रोहात्मक मतले रास्वपालाई स्थापित दलहरूमाथि विजय गरायो तर पार्टीभित्र नीति निर्माण, संस्थागत निर्णय प्रक्रिया, वैचारिक प्रशिक्षण वा सांगठनिक पारदर्शिता निर्माण गर्ने कुनै गम्भीर प्रयास देखिएन ।
रवि लामिछानेको नेतृत्व, व्यक्तित्व र शैली नै पार्टीको नक्सा बनेको छ-जहाँ सबै निर्णायक शक्ति एक व्यक्तिमा केन्द्रित छ । दोहोरो नागरिकता प्रकरण, सहकारी ठगी अभियोग, र त्यसमा पार्टी नेतृत्वको पूर्ण समर्थनले देखायो कि रास्वपा विचार, विधि र नीतिमा होइन, व्यक्तिको छायामा बाँचिरहेको छ ।
दस्तावेज एकातिर, व्यवहार अर्कोतिर
रास्वपाको दस्तावेजमा स्पष्ट उल्लेख छ-लोककल्याणकारी राज्य निर्माण, सामाजिक समावेशिता, उत्तरदायित्व र विधिको शासन तर रवि लामिछानेमाथि सहकारीमा संलग्नताको आरोप पुष्टि गर्ने पार्टीभित्रैको मुकुल ढकाल नेतृत्वको छानबिन समितिको प्रतिवेदन नै पछि बेवास्ता गरियो । यस घटनाले पार्टी घोषणापत्र दस्तावेजी कर्मकाण्डमा सीमित रहेको पुष्टि ग¥यो ।
कानुन बनाउने निकायका सदस्यले नै अनुसन्धानको निष्कर्षअनुसार नैतिक जवाफदेहिता लिनुपर्नेमा त्यसको उल्टो, छानबिन समितिका संयोजक ढकाललाई पार्टीबाट निष्काशन गरियो । यस्तो प्रवृत्तिले संस्थागत अनुशासन होइन, व्यक्तिवादी आडम्बर झल्काउँछ ।
देवराज पाठकको राजसंस्थासम्बन्धी अभिव्यक्तिः पार्टीको वैचारिक विचलन ?

रास्वपाका लुम्बिनी प्रदेश अध्यक्ष देवराज पाठकको पछिल्लो अभिव्यक्तिले पार्टीको वैचारिक विचलनलाई औपचारिकता दिएको छ । उनी भन्छन्-“यदि आजको गणतन्त्र यति भ्रष्टाचार, बेथिति र अन्यायपूर्ण हुने थाहा भएको भए २०६२/०६३ मा जनताले सडक तताउने थिएनन् ।” उनले अझै अगाडि बढेर “जब जनताले विवेकपूर्वक सही प्रतिनिधि छान्न सक्दैनन्, तब संरक्षकको रूपमा राजा चाहिन्छ” भनी खुलेर वकालत गर्छन् ।
पाठक यसै अभिव्यक्तिमा राजा वीरेन्द्रको छोरी श्रुतीका छोरीहरू-ग्रीवानी र सुरांगनालाई भावी उत्तराधिकारीका रूपमा ‘महारानीको सम्भावना’ उठाउँछन् । यस्तो विचार केवल राजतन्त्रको बहस होइन, लैंगिक र सांस्कृतिक रूपमा नया राजसंस्थाको सम्भावनालाई राजनीतिक वैधता दिने प्रयास हो ।
यो पार्टीको गहिरो रणनीतिक विचलन हो-एकातिर ‘संवैधानिक समाजवाद’ को घोषणामा अडिएको, अर्कोतिर आफ्नै प्रदेश अध्यक्षको मुखबाट संरक्षक राजसंस्थाको सम्भावना बोलिरहेको ।
नेतृत्वको मौनता-संकेत कि समर्थन ?
पाठकको यस्तो अभिव्यक्तिपछि रास्वपा नेतृत्व पूर्ण मौन छ । न खण्डन, न स्पष्टीकरण । यस मौनताले एक गम्भीर सन्देश दिन्छ-या त पार्टी स्वयं राजसंस्थाप्रति सहानुभूति राख्छ, या नेतृत्वको आन्तरिक शक्ति संरचना विचारको अनुशासन गर्न सक्ने अवस्थामा छैन ।
दुवै अवस्थामा पार्टीको वैचारिक पक्ष स्पष्ट छैन । जब पार्टी नेतृत्व एकातर्फ विधि, लोकतन्त्र र न्यायको कुरा गर्छ तर अर्कातर्फ राजसंस्थाको चर्चा गर्नेलाई मौन स्वीकृति दिन्छ, त्यो पार्टी ‘राजनीतिक मतभेदहरूलाई बहसमा ल्याउने लोकतान्त्रिक अभ्यास’ होइन, द्वैध विचारबाट जनमत भुल्याउने रणनीति हो ।
वैचारिक स्पष्टता बिना कुनै पनि शक्ति वैकल्पिक हुँदैन
रास्वपाको समस्याको मूल हो-यसको वैचारिक अस्पष्टता । विचार बिना व्यक्तिपूजा हुन्छ, नीति बिना घोषणापत्र झुट हुन्छ, संस्थागत संरचना बिना संगठन टिक्दैन ।
रास्वपाले स्पष्ट निर्णय गर्नुपर्ने मोडमा आइपुगेको छ :
के ऊ लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध वैचारिक शक्ति हो ?
कि ऊ राजसंस्थाको बहालीलाई रणनीतिक ‘कार्ड’ बनाएर मतदाता झुक्याउने अवसरवादी परियोजना हो ?
यदि पार्टीले विचारको स्पष्टता, नेतृत्वको जवाफदेहिता र सांगठनिक अनुशासनको पक्षमा आत्मसमिक्षा गरिएन भने, यो प्रयोग इतिहासमा केवल ‘रवि ब्रान्ड’ को क्षणिक तरंगका रूपमा मात्र बाँकी रहनेछ ।
निष्कर्षः विकल्प बन्ने कि भ्रमको बलिदान ?
लोकतन्त्र विचारले बाँच्दछ, केवल आक्रोश वा लोकप्रियताले होइन। जनताको भरोसा लिन जनताको विवेकको सम्मान गरिनुपर्छ । देवराज पाठकको अभिव्यक्तिले रास्वपाको आत्मविरोधी प्रवृत्ति उजागर गरेको छ । यदि पार्टी नेतृत्वले यसप्रति सार्वजनिक र नीतिगत रूपमा चित्तबुझ्दो जवाफ दिँदैन भने, रास्वपा अब वैकल्पिक शक्ति होइन, गणतन्त्रभित्र राजावादी सोचको प्रवेशद्वार बन्ने खतरा बढ्छ । अन्ततः जनताले रोज्नेछन्-विचारयुक्त लोकतन्त्र कि आकर्षक भ्रम ।