विद्यालय शिक्षा ऐन जारीको मागसहित माईतीघरमा शिक्षकहरुको आन्दोलन जारी

काठमाडौँ । विद्यालय शिक्षा ऐन तुरुन्त जारी गर्नुपर्ने मागसहित शिक्षकहरुले राजधानीको माईतीघर मण्डलामा जारी आन्दोलन आज पनि निरन्तर राखेका छन् ।
करिब १५ दिनदेखि प्रदर्शनमा रहेका शिक्षकहरुले सरकारसँग पटक–पटक वार्ता भए पनि कुनै ठोस निस्कर्ष ननिस्केपछि आन्दोलन जारी राख्ने अडान लिएका छन् ।
शिक्षकहरुले शिक्षा मन्त्री, सभामुख तथा प्रधानमन्त्रीसँगको छलफलबाट आश्वासन मात्र पाएको तर कार्यान्वयन नभएको गुनासो गरेका छन् । उनीहरुले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्।
आन्दोलनमा सहभागी एक शिक्षकका अनुसार वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा पनि आन्दोलनरत शिक्षकहरु समावेश नहुने स्पष्ट गरिएको छ। उहाँले राज्यले आन्दोलनकारी शिक्षकहरुको माग चाँडै सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो।
शिक्षकहरुले शनिबारसम्म बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म आन्दोलन गर्दै आएका थिए भने आइतबारबाट समय परिवर्तन गरी बिहान ९ बजेदेखि १२ बजेसम्म आन्दोलन जारी राख्ने बताएका छन्।
शिक्षकहरुको आन्दोलनका कारण शैक्षिक सत्रमा असर पर्ने देखिँदै गएको छ। सरकार र शिक्षकबीच चाँडै संवादमार्फत सहमति कायम गर्नुपर्ने आवाज विभिन्न शिक्षा संगठन तथा सरोकारवालाबाट उठ्न थालेको छ।