जितगढी किल्लालाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल गरिने-मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जितगढी किल्लालाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गराउने प्रक्रिया अघि बढाइने बताएका छन्। बुटवलमा आयोजित जितगढी उत्सवको उद्घाटन कार्यक्रममा बोल्दै उनले संघीय सरकारसँग समन्वय गरी आवश्यक पहल थालिने जानकारी गराए ।
मुख्यमन्त्री आचार्यले जितगढी किल्ला राष्ट्रिय गौरवको प्रतीक भएकाले अन्तर्राष्ट्रिय रूपमा यसको ऐतिहासिकता चिनाउन आवश्यक रहेको बताए ।
त्यस्तै, कर्णेल उजिरसिंह थापालाई ‘राष्ट्रिय सपुत’ घोषणा गर्नसमेत संघीय सरकारसँग पहल गर्ने उनको भनाइ थियो। “नयाँ पुस्तालाई वीरताको गाथा सुनाउनु जरुरी छ,” उनले भने, “इतिहासप्रति गर्व गर्ने वातावरण बनाउनु अहिलेको आवश्यकता हो।”
बुटवललाई प्रदेशको आर्थिक राजधानी बनाउने योजनाबारे पनि उनले प्रतिबद्धता जनाए। स्थानीय सरकारसँग साझेदारी गरी योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने उनले स्पष्ट पारे।
जितगढी उत्सवको अवसरमा आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू, देशभक्तिपूर्ण गीत–नृत्य तथा ऐतिहासिक झाँकीहरू प्रस्तुत गरिएको थियो। बुटवल उपमहानगरपालिकाको प्रवर्द्धनमा आयोजित यस उत्सवले ऐतिहासिक स्मृति संरक्षण र राष्ट्रिय गौरव जागृत गर्न योगदान दिएको आयोजकको विश्वास छ।
वि.सं. १८७२ साल वैशाख ७ गते कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले बुटवलको जितगढी किल्लामा अंग्रेज फौजलाई पराजित गरेको ऐतिहासिक स्मृतिमा यो उत्सव मनाइँदै आएको हो। इतिहास अनुसार, नेपाली फौजले नुवाकोट डाँडाबाट सुरुङमार्ग बनाउँदै तिनाउ नदी किनारमा गढी निर्माण गरेका थिए, जसबाट अंग्रेज सेनाविरुद्ध निर्णायक युद्ध लडिएको थियो।
उक्त युद्धमा विजय प्राप्त गरेपछि गढीको नाम ‘जितगढी’ रहन गएको हो। नेपाल–अंग्रेज युद्धको क्रममा जितगढीसहित नुवाकोट, सिमरन लगायतका सात स्थानमा युद्ध भएका थिए। तीमध्ये बुटवलको जितगढी युद्ध ऐतिहासिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिन्छ। मुख्यमन्त्री आचार्यले भने, “हामी आज जहाँ छौं, त्यो वीर योद्धाहरूको त्याग, बलिदान र स्वाभिमानको परिणाम हो।”
जितगढी उत्सव हरेक वर्ष वैशाख ७ गते मनाइन्छ, जसले राष्ट्रिय इतिहासप्रति सम्मान, वीरताको स्मरण र भावी पुस्तामा देशभक्तिको भावना जगाउन योगदान पुर्याउने विश्वास आयोजकको छ।